नयाँ दिल्लीबाट काठमाडौं आएको विस्तारा एयरलाइन्सको विमानमा सवार यात्रुहरूको लगेज एक्स-रेगर्न थालिएको छ। उक्त जहाजमा बम रहेको हल्लापछि बम डिस्पोजलसहितको टोलीले विमानलाई छुट्टै राखेर यात्रुहरूको लगेज एक्स-रे गरिरहेको विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रवक्ता एसएसपी डम्बर विकले नेपालखबरलाई जानकारी दिए।
उक्त जहाजमा १ सय ५७ जना यात्रु काठमाडौं आएका थिए। ‘ह्यान्डक्यारीसहित यात्रुहरूको अध्यागमन जाँच सकिएको छ,’ एसएसपी विकले भने, ‘लगेज एक्सरेको काम भइरहेको छ। एक्सरेपछि सम्बन्धित यात्रुलाई लगेज बुझाउँदै जान्छौँ। बाँकी कुनै लगेज रह्यो भने थप अनुसन्धान हुन्छ।’
यस्तै विमानभित्र अहिले नेपाली सेनाको बम डिस्पोजल टोली, बम पत्ता लगाउने कुकुरसहित नेपाल प्रहरीले संयुक्त रुपमा सर्च गरिरहेको छ।
अपराह्न ४ः३० मा त्रिभुवन विमानस्थलमा उक्त जहाज अवतरण गरेको थियो।
बमको हल्लापछि त्रिभुवन विमानस्थलको उडान समेत प्रभावित भएको छ।
Shares

प्रतिक्रिया