समाज


दुई सातादेखि श्रीमती र छोराछोरीको शव घरभित्रै, श्रीमान् पुगे खोज्न प्रहरी कार्यालय

दुई सातादेखि श्रीमती र छोराछोरीको शव घरभित्रै, श्रीमान् पुगे खोज्न प्रहरी कार्यालय

उजिर कार्की
कात्तिक २९, २०८१ बिहिबार २२:३, काठमाडौँ

काठमाडौंको गोकर्णेश्वर नगरपालिका ३ मा श्रीमानले दुई सातादेखि बेपत्ता भनेकी महिला छोराछोरीसहित घरभित्रै मृत फेला परेका छन्।

कान्छा नगरकोटीले आफ्नी श्रीमती ३३ वर्षकी सीता दंगाल नगरकोटी, १५ वर्षकी छोरी अंशु मोक्तान र २ महिनाका छोरा हराएको भन्दै बिहीबार दिउँसो प्रहरी वृत्त बौद्धमा खोजतलासका लागि निवेदन दिएका थिए।

कान्छाले श्रीमती छोराछोरीसहित कात्तिक १६ गतेदेखि बेपत्ता भएको भन्दै प्रहरी कार्यालयमा निवेदन दिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले बताए। उनले घरमा आफू सुत्ने कोठामा चाबि लगाएर श्रीमती हराएको प्रहरीलाई जानकारी गराएका थिए।

उनको निवेदनपछि प्रहरीले पहिले घरमै खोजतलास गरेको थियो। तीनै जना घरभित्रै मृत फेला परेका छन्।

घरभित्रबाटै बन्द गरेको अवस्थामा तीनै जना मृत फेला परेको प्रहरीले जानकारी दिएको छ।

ढोकामा भित्रबाहिरबाटै चाबि लगाउन मिल्छ। श्रीमानले भने चाबि सधैं श्रीमती सीताले नै बोक्ने गरेको बताएका छन्। प्रहरीले ढोका फोडेर कोठाभित्र तीनै जनाको शव फेला परेको हो।

कान्छाले हराएको भनेको मितिमै उनीहरुको मृत्यु भएको प्रहरीको अनुमान छ। शव सडेको अवस्थामा छ। घरभित्र शवको अवस्था हेर्दा उनीहरुको हत्या नभई भवितव्यमा परी ज्यान गएको हुनसक्ने प्रहरीको अनुमान छ।

२ महिनाको छोरालाई सेक्नका लागि भित्रै कैला बालेको फेला परेको छ।

‘शवको अवस्था र घटनास्थलको प्रकृति हेर्दा हत्या नभई भवितव्यमा परेको जस्तो देखिन्छ। तर शव पोष्टमार्टमका लागि पठाएका छौं। रिपोर्ट आएपछि थप प्रस्ट हुन्छ’, काठमाडौं परिसरका एक अधिकारीले भने।

यस्तै प्रहरीले श्रीमानमाथि पनि अनुसन्धान गरिरहेको छ। उनले श्रीमती र छोराछोरी हराएको यतिका दिनसम्म पनि किन खबर गरेनन् भनेर शंका गर्ने ठाउँ पनि देखिएको जनाएको छ।

‘ढोका भित्रबाहिरबाटै चाबि लगाउन मिल्ने देखिन्छ। त्यो ढोका भित्रबाट लक गरियो कि बाहिरबाट भन्ने पनि अहिले नै अनुमान गर्न मिल्दैन। अर्को कुरा हराएको यत्तिका दिन भइसक्दा पनि श्रीमानले किन खोजि गरेनन् भन्ने प्रश्न पनि रहन्छ। हामी दुवै हिसावले अनुसन्धान गरिरहेका छौं’, प्रहरी अधिकारीले भने।

घटनाको दुई दिनअघि मात्रै सीता काममा गएर फर्किएको खुलेको छ। श्रीमान कान्छाले भने सीताले आफूलाई बाहिरै पारेको बताएका थिए। यस्तै उनले आफ्नी श्रीमती अर्कैसँग विवाह गरेर गइन् भन्दै गाउँलेलाई सुनाएको पनि पाइएको वडाध्यक्ष मुरारीप्रसाद कुइकेलले बताए।

दुई दिन अघि छोरी पढ्ने स्कुलमा पुगेर सोधखोज पनि गरेका थिए। छोरी अंशु मोक्तान श्रीमतीका पहिलेका श्रीमानपट्टिकी हुन्। कान्छासँग दोस्रो बिबाह गर्दा अंशुलाई पनि लिएरै आएकी थिइन्।

यस्तै कान्छाको पनि दोस्रो बिबाह हो। उनकी पहिलेकी श्रीमतीको मृत्यु भएको थियो। पहिलेकी श्रीमतीबाट पनि एक छोरा छन्। दोस्रो बिबाह गरेपछि बाबुछोराको झगडा समेत भएको थियो। पछिल्लो समय भने छोरा छुट्टै बस्दै आएका छन्।

कान्छा र सीताका भने २ महिनाअघि मात्रै छोरा जन्मिएका थिए।

घटना शंकास्पद देखिएपछि प्रहरीले कान्छालाई पनि पक्राउ गरेको छ। उनलाई बौद्ध वृत्तमा लगेर अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad