समाज


बीपी कोइराला क्यान्सर अस्पतालमा ‘मेमोग्राफी’ सेवा पुन: सुरु

बीपी कोइराला क्यान्सर अस्पतालमा ‘मेमोग्राफी’ सेवा पुन: सुरु

नेपालखबर
मंसिर ५, २०८१ बुधबार १४:३, चितवन

चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पुनः ‘मेमोग्राफी’ सेवा सुरुआत गरिएको छ। स्तन क्यान्सर पहिचानका लागि निकै उपयोगी मेसिन बिग्रिएपछि विगत तीन वर्षदेखि सेवा बन्द रहेको थियो। नयाँ मेसिन जडान गरी पुनः सेवा सुरु गरिएको हो।

अस्पतालका उपनिर्देशक डा उमेश नेपालका अनुसार इटालीमा बनेको ‘डिजिटल मेमोग्राफी’ स्वास्थ्य सेवा विभागले खरिद गरी अस्पताललाई उपलब्ध गराएको छ।

विगतमा अस्पतालमा यो मेसिन भए पनि बिग्रिएपछि विगत तीन वर्षदेखि सेवा बन्द रहेको उनको भनाइ छ। बिग्रिएको मेसिन मर्मत हुन नसक्ने भए पनि नयाँ खरिदका लागि स्वास्थ्य मन्त्रालयमा आग्रह गरिएको थियो।

मेसिन एक महिनाअघि नै अस्पतालमा आएको भए पनि जडानका लागि प्राविधिकहरु आइपुग्न ढिलो हुँदा अहिले सञ्चालनमा ल्याइएको उजले जानकारी दिए।

स्तन क्यान्सरको परीक्षणमा अति प्रभावकारी यो मेसिन जडान र सेवा सुरु भएसँगै स्तन क्यान्सर समयमै पत्ता लगाई प्रभावकारी उपचार सुरु गर्न अझ बढी सहयोग मिल्ने उनको भनाइ छ।

अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले रु तीन करोड हाराहारी पर्ने उक्त मेसिन आएसँगै सेवालाई चुस्त बनाउन सहयोग मिलेको बताए। उनका अनुसार पछिल्लो समय अस्पतालमा भएका पुराना मेसिन उपकरणको मर्मत र नयाँ खरिद गरी सेवालाई थप प्रभावकारी बनाइएको छ।

क्यान्सरको उपचार र परीक्षण प्रक्रिया आफैँमा लामो हुने भन्दै कार्यकारी निर्देशक डा पौडेलले भने, ‘बिरामी लामो पालो कुर्नुपर्ने अवस्थालाई घटाउँदै लगेका छौँ। अब रेडियोलोजी, शल्यक्रिया, प्रयोगशाला जस्ता सेवामा धेरै लामो पालो कुर्नुपर्ने अवस्था छैन।’

विगतमा कतिपय प्रयोगशाला परीक्षण बाहिर पठाउनुपर्ने बाध्यताको अन्त्य गरिएको भन्दै उनले दुईवटा सिटी स्क्यान मेसिन सञ्चालन गरेर नियमित सेवा दिएको बताए।कार्यकारी निर्देशक डा पौडेलले भने, ‘अब कुनै पनि परीक्षण र शल्यक्रियाका लागि अस्पताल बाहिर जानु पर्ने बाध्यता छैन।’

अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणका लागि समेत चिनियाँ सरकारको सहयोगमा काम भइरहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad