समाज


कोसीका निवर्तमान मन्त्रीविरुद्ध मुद्दा नचलाउने निर्णय, ११ जना प्रतिवादी

कोसीका निवर्तमान मन्त्रीविरुद्ध मुद्दा नचलाउने निर्णय, ११ जना प्रतिवादी

नेपालखबर
मंसिर १०, २०८१ सोमबार १६:४६, काठमाडौँ

जापानमा मानव बेचविखन तथा ओसार पसार गरेको आरोपमा पक्राउ परेका कोसी प्रदेशका निवर्तमान मन्त्री लिलावल्लभ अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय भएको छ। 

जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई समेत प्रतिवादी बनाउन राय दिएको भए पनि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले उनको संलग्नता नदेखिएको भन्दै उनलाई मुद्दा नचलाउने निर्णय गरेको जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता सिताराम अर्यालले जानकारी दिए।

कोसी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीसहितलाई ३ वटा कसुरमा मुद्दा चलाउनु पर्ने राय प्रहरीले दिएको थियो। जापानमा मानव बेचबिखन गरेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान सकेर शुक्रबार जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो। 

प्रतिवेदनमा पक्राउ परेका ९ जना र फरार ३ नजना गरी १२ जनालाई ३ वटा कसुरमा मुद्दा चलाउन राय दिइएको थियो। तर सरकारी वकिल कार्यालयले निवर्तमान अधिकारी बाहेक ११ जनाविरुद्ध मात्रै मुद्दा चलाउने निर्णय गरेको अर्यालले बताए। 

अधिकारी नेकपा एमालेबाट मोरङ क्षेत्र नं २ (ख) बाट निर्वाचित सांसद हुन्। अरुविरुद्ध भने मानव बेचविखन तथा ओसारपसार, सरकारी कागजात किर्ते र ठगी सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको छ। 

मन्त्री अधिकारीसँगै ३ जना युवा नक्कली कागजातका आधारमा जापानको नारिता विमानस्थल पुगेका थिए। तर त्यहाँबाट मन्त्री अधिकारी र तीनजना युवालाई नै फर्काइदिएको थियो। कात्तिक १६ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ युवा पक्राउ परेका थिए। 

पक्राउ परेका युवाहरूले आफूहरूले १० देखि १३ लाख रूपैयाँसम्म बुझाएर जापान गएको बयान दिएका थिए। उनीहरूले बयानमा आफूहरू पनि ठगिएको बताएका छन्। उनीहरूले बिचौलियालाई रकम बुझाएर जापान जान लागेको बताएका थिए। 

तर सरकारी वकिल कार्यालयले मन्त्री अधिकारीले आफू गलत कार्यक्रममा आएको थाहा पाउनासाथ फर्किएको, घटना बारे उनले नै प्रहरीलाई जानकारी दिएको, बयानका क्रममा संलग्नता अस्वीकार गरेको जस्ता आधार देखाएर उनलाई मुद्दा नचल्ने निर्णय भएको छ।

निवर्तमान मन्त्री अधिकारी कात्तिक २५ गते पक्राउ परेका थिए। खोटाङको केपिलासगढी गाँउपालिका ४ का ४१ वर्षीय जनक राई, खोटाङकै ऐँसेलुखर्क गाँउपालिका–२ का ३७ वर्षीय दावा शेर्पा र रसुवाको कालिका गाँउपालिका–५ का २१ वर्षीय कन्चन देवकोटा मन्त्री अधिकारीसँगै जापान पुगेका थिए। 

उनीहरूलाई जापानको विमानस्थलबाटै फर्काइएपछि त्रिभुवन विमानस्थलबाट पक्राउ गरेर अनुसन्धान अगाडि बढाइएको थियो। उनीहरुको बयानबाट धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–६ का ३४ वर्षीय महेश पाण्डे, नुवाकोटको विदुर नगरपालिका–७ का २२ वर्षीय जुगल रिजाल र दोलखाको जिरी नगरपालिका–९ का ३० वर्षीय वीरबहादुर सुनुवारको पनि संलग्नता खुलेको थियो। त्यसपछि प्रहरीले उनीहरूलाई पनि पक्राउ गरेको थियो।

यी ६ जनापछि मन्त्री अधिकारी पक्राउ परेका थिए। अनुसन्धानका क्रममा थप २ जनाको पनि संलग्नता खुलेको थियो। प्रहरीले खोटाङ घर भएका ४१ वर्षीय नवीन राई र ३२ वर्षीया गुड्डी राईलाई पनि पक्राउ गरेको छ। 

विष्णु भट्टराई, दिवाकर भट्टराई र गौपाल गौतम फरार छन्। गौतमले नै अधिकारीको पासपोर्ट लगायतको कागजात लगेका थिए। जापान जाने बेला दिवाकरले पासापोर्ट लगायतका कागजात दिएको अधिकारीले बताएका छन्। उनीहरुलाई फरार सूचीमा राखेर मुद्दा दायर भएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad