समाज


स्नातक पढिरहेकी दृष्टिविहीन चन्दा भन्छिन्- अपांगता भएका सन्तानलाई बाहिर निकाल (भिडिओ)

स्नातक पढिरहेकी दृष्टिविहीन चन्दा भन्छिन्- अपांगता भएका सन्तानलाई बाहिर निकाल (भिडिओ)

रोश्ना सुब्बा
पुस १०, २०८१ बुधबार १९:३६, काठमाडौँ

दृष्टिविहीन विद्यार्थी चन्दाकुमारी चौधरीले जब पहिलोपटक ब्रेल लिपिको पुस्तक स्पर्श गरिन्, उनलाई अचम्म लाग्यो– छामेर कसरी पढ्ने होला, यसरी पढ्न सकिएला र!

‘२०७० सालमा रूपन्देहीको शान्ति नमुना माध्यमिक विद्यालय, मणिग्राममा होस्टेल इन्चार्ज सरले दिनुभएको किताब मैले छामेँ,’ उनी भन्छिन्, ‘म त छक्कै परेँ।’

त्यसअघि उनलाई न त ब्रेल लिपिका बारेमा थाहा थियो, न दृष्टिविहीन विद्यार्थीका लागि पढाइ हुने विद्यालय हुन्छ भन्ने नै। आफ्नो गाउँ मैनहिया (रूपन्देही) को एक विद्यालयमा कक्षा २ मा पढ्दापढ्दै उनले पढाइ छाडेकी थिइन्। शिक्षकले बोर्डमा लेखेको कुरा सार्न अनि पढ्न सक्दिनँ भन्न उनी सक्दिनथिइन्। शिक्षकले मौखिक रूपमा भनेको कुरा सम्झेर भन्न र सोध्दा जवाफ दिनचाहिँ सक्थिन्। 

‘सरले लेख्न जानेन भनेर गाली गर्नुहुन्थ्यो। यसलाई आउँदैन भनेर पिट्नुहुन्थ्यो। पिटाइ खाईखाई पढ्न सक्दिनँ जस्तो लाग्यो र विद्यालय जान छाडेँ,’ विद्यालय छाड्नुको कारण उनले बताइन्। 

उनी जन्मँदै दृष्टिविहीन हुन्। भन्छिन्, ‘मेरो आँखा हेर्दा प्रायःलाई मैले देख्छुजस्तो लाग्छ। शिक्षकहरूलाई म आँखा देख्दिनँ भनेर बुझाउन सक्दिन थिएँ। सानै थिएँ त्यतिबेला। उहाँहरूलाई पनि मजस्तो विद्यार्थीलाई कसरी पढाउन सकिन्छ भन्ने थाहा नभएर होला।’

उनको बुवाले उनलाई पढाउन लेखाउन कोसिस गरेका थिए।

भिडिओ

‘बुवाले पेन दिएर घरमा लेख भन्नुहुन्थ्यो। अक्षर नै देख्दिनथेँ। पेनले लेख्न कसरी सक्थेँ र! उहाँले त्यसपछि तँ आँखा देख्दिनस्। पढ्न सक्दिनस्। स्कुल नजा भन्नुभयो,’ उनले सुनाइन्। 

चन्दा चौधरीको घरको आर्थिक अवस्था कमजोर थियो। अधियामा खेती गरेर परिवारको जीविका चलेको थियो। उनका दुई दिदी र दुई भाइमध्ये सानो भाइ पनि दृष्टिविहीन छन्।

विद्यालय छुटेपछि चन्दा घरको काममा सघाउन थालिन्। उनलाई पढ्ने इच्छा त धेरै थियो तर दृष्टिविहीनका लागि पढ्ने विद्यालय हुँदो रहेनछ भन्ने उनको मनमा परेको थियो।

यस्तैमा एक दिन २०ं६८ सालको जनगणनाका क्रममा तथ्यांक संकलनकर्ता घरमा पुगे। र, चन्दाले शान्ति नमुना माविमा दृष्टिविहीन विद्यार्थीका लागि ब्रेल लिपिबाट पढाइ हुने थाहा पाइन्। 

‘त्यसबेला आउनुभएको सरको उद्देश्य हामीले जसरी भए पनि पढ्नुपर्छ भन्ने थियो। उहाँले हाम्रो अपांगता कार्ड पनि बनाइदिनुभयो,’ उनले भनिन्। 

उनी भाइलाई कक्षा ६ मा भर्ना गराउन शान्ति नमुनामा पुगिन्। उनको भाइसँग कक्षा ५ पूरा गरेको प्रमाणपत्र थियो। उनी भन्छिन्, ‘भाइले साथीहरूको सहयोगबाट पढेको थियो। ऊ ठूलो अक्षर अलिअलि देख्न सक्छ।’

त्यहाँ पुगेपछि चन्दामा पनि पढ्ने रहर जाग्यो। तर उनीसँग कुनै प्रमाणपत्र थिएन। साथै घरबाट पनि साथ पाइनन्। उनी म १६/१७ वर्षकी भइसकेकी थिइन्। बुवाले भने, ‘उमेर भइसक्यो, अहिले पढेर के हुन्छ? दिमागमा घुस्दैन, घरको काम गर भन्नुभयो।’

तर शान्ति नमुनाका होस्टल इन्चार्जले उनलाई पढ्न प्रेरित गरे। 

‘उमेर भइसकेको कारण उहाँले मलाई कक्षा ६ मा भर्ना हुन भन्नुभयो। मलाई केही प्रश्न सोध्नुभयो। मैले जवाफ दिएँ। त्यसपछि ब्रेल सिकाउनुभयो। मेहनत गर। सक्छौ भनेर प्रेरणा दिइरहनुभयो,’ उनले भनिन्। 

तर यसरी एकैचोटि कक्षा ६ मा भर्ना भएर पहिलो दिन कक्षाकोठामा जाँदा उनी आत्तिइन्। उनीजस्ता पाँचजना दृष्टिविहीन विद्यार्थी थिए कक्षामा। बाँकी अरू विद्यार्थी थिए। उनको लागि विद्यालयको वातावरण नयाँ र भिन्न थियो। उनी बेहोस भएर कक्षामा ढलिन्। 

‘मलाई नेपाली राम्ररी बोल्न आउँदैनथ्यो। म त थारू भाषा बोल्थेँ। हाम्रो गाउँमा प्रायः सबै थारू भषामा कुरा गर्थे। शिक्षकहरूले केही सोध्ने हो कि? सोधेपछि नेपालीमा जवाफ दिँदा नमिल्ला कि भन्ने डर लाग्यो। यही डरले म बेहोस भएर ढलेँ,’ उनले सुनाइन्।

उनको यो भोगाइले शिक्षा र भाषाबीचको कति गहिरो सम्बन्ध हुन्छ भन्ने प्रस्ट्याउँछ। 

उनलाई पढ्न, छात्रावासमा बस्न र खान पैसा लाग्दैनथ्यो। दृष्टिविहीन विद्यार्थीका लागि यस्तो सुविधा भए पनि विद्यालयको पोसाक सिलाउन उनीसँग पैसा थिएन। तीन महिनासम्म उनी आफूसँग भएको अरु लुगामा नै विद्यालय गइन्।

‘कक्षा शिक्षकले आउट ड्रेसमा नआऊ, कक्षाकोठामा छिर्न दिन्नँ भन्नुहुन्थ्यो। तर म कक्षामा जान्थेँ। सजाय पनि दिनुहुन्थ्यो। उहाँले किन ड्रेस नलगाएको भनेर कहिल्यै बुझ्न खोज्नुभएन। मैले पनि आफ्नो अवस्था भन्न सकिनँ,’ आफ्नो कमजोर आर्थिक अवस्थाका बारेमा चन्दा भन्छिन्, ‘कहिलेकाहीँ बिदामा गाडीमा चढेर घर जान पैसा हुँदैनथ्यो। बिहान हिँडेर साँझ मात्र घर पुग्थ्यौँ। डसना किन्न नसकेर चार महिना त खाटमा तन्ना मात्र ओछ्याएर सुतेँ।’ 

विद्यालयमा बिस्तारै उनका साथीहरू बन्न थाले। उनी स्कुलको वातावरण बुझ्न थालिन्। यसै क्रममा उनलाई कहिलेकाहीँ असहज पनि हुन्थ्यो।

आफ्नो अनुभव सुनाउँदै चन्दा भन्छिन्, ‘शिक्षकहरूले बोर्डमा लेखेर मात्र पढाउँदा गाह्रो हुन्थ्यो। लेखेको हेर्न सकिँदैन। कसैले चाहिँ छिटोछिटो बोल्दा गाह्रो हुन्थ्यो। टिप्न सकिँदैनथ्यो। यस्तो बेला साथीहरूबाट सहयोग लिन्थेँ। अहिले क्याम्पसमा पनि यस्तो समस्या छ।’

चन्दा हाल सानो ठिमी क्याम्पस, भक्तपुरमा स्नातक तहमा पढ्दै छिन्। रूपन्देहीमा विद्यालय तहको पढाइ पूरा गरेपछि उनी यहाँ आएकी हुन्। एक छाक खाएर भए पनि पढ्ने र स्नातकोत्तर गर्ने उनको अठोट छ। 

उनी बिहान क्याम्पस जान्छिन्। दिउँसो चियापत्ती, धूप, कलमलगायतका सामान बेच्छिन्। कहिले साथीलाई लिएर बजार जान्छिन्। कहिले त एक्लै पनि जान्छिन्। उनी भन्छिन् ‘कहिले बाटोमा खाल्डाखुल्डी हुन्छ। त्यहाँ लडिन्छ। कहिले फुटेको ढलमा लडिन्छ। कहिले साइड लगाएर राखिएको बाइकमा ठोक्किन्छ। बाटो हिँडेपछि ठेस लाग्छ। तर उठ्न जान्नुपर्छ। जस्तोसुकै समस्या आए पनि सामना गर्न तयार छु।’
 
बोर्डमा लेखेको देख्न सक्दिनँ भन्न अनि विद्यालय पोसाक सिलाउन पैसा छैन भन्न नसकेर सजाय पाउने, नेपालीमा राम्ररी बोल्न सक्दिनँ भनेर डराएर बेहोस हुने चन्दामा अहिले ठूलो परिवर्तन आएको छ। उनी आफ्नो कुरा निर्धक्क राख्न सक्छिन्। आत्मनिर्भर बन्ने प्रयासमा छिन्। आफ्नो बारेमा चिन्ता गर्ने आमालाई हौसला दिन्छिन्। 

उनी भन्छिन्, ‘आज ज्ञान छ शिक्षाका कारण। अहिलेको जस्तो भएको भए म पहिले कति बोल्थेँ होला जस्तो लाग्छ। शिक्षकलाई आफ्नो आर्थिक अवस्थाको बारेमा बुझाउन सक्थेँ। बुवाले घरको काम गर, खुट्टा भाँचिदिन्छु भन्दा पढ्न नपाए बरु मर्छु जस्तो लाग्थ्यो। बुवालाई पनि सबै कुरा थाहा थिएन। बुवालाई बुझाउन सक्थेँ।’

उनको बुवाको २०७१ सालमा निधन भयो। दृष्टिविहीनका लागि ब्रेलमा पढाइ हुन्छ भन्ने थाहा पाएको भए आफूलाई बुवाको साथ सहयोग हुन्थ्यो भन्ने अहिले उनलाई पनि लाग्छ। आफूले संघर्ष गरेर पढेको र पढाइका कारण नै छिमेकीहरूको आफूप्रतिको दृष्टिकोण बदलिएको उनको अनुभव छ। 

‘पहिले छिमेकीहरूले आँखा देख्दैनन् के पो गर्न सक्छन् भन्थे। अहिले प्रशंसा गर्छन्। गाउँमै बसेको भए बाहिरको संसार बुझ्दैनथेँ। मजस्ता दृष्टिविहीनहरू अरु पनि छन्, उनीहरू पनि पढिरहेका छन्, केही गरिरहेका छन् भनेर थाहा पाउँदैनथेँ। जस्तोसुकै अपांगता भएका सन्तान भए पनि अरुले के भन्लान् भनेर लुकाउनुहुँदैन। कतिले लाजले घरभित्रै राख्छन्। सबभन्दा पहिले आमाबुवाले नै बाहिर निकाल्नुपर्छ,’ चन्दाको सुझाव छ।

दृष्टिविहीन विद्यार्थी चन्दाकुमारी चौधरीले शिक्षाका लागि गरेको संघर्षका बारेमा नेपालखबरले गरेको भिडिओ कुराकानी।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad