समाज


भ्याक्सिन निर्माणमा फड्को: कोरोना भाइरस लाग्दा मानव शरीरले कसरी लड्छ?

भ्याक्सिन निर्माणमा फड्को: कोरोना भाइरस लाग्दा मानव शरीरले कसरी लड्छ?

नेपालखबर
चैत ५, २०७६ बुधबार ९:३५,

 मानव शरीरले कोरोना भाइरस (कोभिड–१९) को कसरी सामाना गर्छ भन्ने पहिचान गर्न अष्ट्रेलियाका वैज्ञानिक सफल भएका छन्। कोरोना संक्रमण भए पनि  चीन, सिंगापुरसहित देशका कैयौं व्यक्तिहरु निको भइरहेका छन्। यही सन्दर्भमा वैज्ञानिकहरुले मानव शरीरको रोग प्रतिरोधात्मक प्रणालीले यो भाइरसविरुद्ध कसरी लड्छ भन्ने पत्ता लगाएका हुन्।

वैज्ञानिकहरुले यसलाई कोरोनाविरुद्धको भ्याक्सिन निर्माणको दिशामा ठूलो फड्कोको रुपमा लिएका छन्।

‘अनुसन्धानको उद्देश्य यो भाइरस सामना गर्ने मानव शरीरका कोसिकाहरुको काम पत्ता लगाउनु थियो। यो कोरोनाविरुद्धको भ्याक्सिन तयार पार्ने कार्यमा ठूलो फड्को हो’, नेचर मेडिसिन जर्नलमा प्रकाशित शोधमा भनिएको छ।

मानव शरीरमा रहेका कोसिकाहरुको रोग प्रतिरोधात्मक क्षमता अनुसन्धानमा संलग्न प्रोफेसर क्याथरिन केडोजियरेस्का भन्छिन्, ‘कोरोनाविरुद्धको भ्याक्सिन तयार पार्ने कार्यका लागि यो एउटा महत्वपूर्ण खोज हो। शरीरले कोरोना भाइरसविरुद्ध कसरी लड्छ भनेर पत्ता लागेको यो नै पहिलो पटक हो।’

यो शोध मेलबर्नस्थित पिटर धोर्टी इन्स्टिच्युट फर इन्फेक्सन एन्ड इम्यिुनिटीका शोकर्ताले गरेका हुन्। यसलाई कोरोना भाइरसविरुद्धको उपचारमा फड्काको रुपमा लिइएको छ।

कोरोनासँग लड्छन् ४ प्रकारका कोसिका
अहिलेसम्म कोरोना भाइरसका दुई पक्ष देखिएका छन्। एकातर्फ यो विश्वभरिका मानवमा तीब्र रुपमा फैलिइरहेको छ। अर्कोतर्फ केही मानिसहरु यो भाइरसको संक्रमणमा परे पनि सञ्चो भएका छन्। ‘यसले देखाउँछ कि मानव शरीरमा रहेका कोसिकाहरुसँग भएको रोग प्रतिरक्षा प्रणाली (इम्युन सिस्टम) लाई यो भाइरसविरुद्ध लड्न सक्षम छ’, प्रोफेसर केडोजियरेस्का भन्छिन्, ‘यस विषयलाई अहिलेसम्म सुक्ष्म रुपमा हेरिएको थिएन।’

अनुसन्धानले मानव शरीरमा रहेका चार प्रकारका प्रतिरक्षा कोसिकाको पहिचान गरेको छ। जो कोरोनासँग लड्न सक्षम पाइएका छन्। यी कोसिकाको पहिचान एक संक्रमित महिलाको जाँचका क्रममा भेटिएका हुन्।

corona chart final 5

चीनको वुहान शहरकी महिलालाई उपचारका लागि अष्ट्रेलियाको एक अस्पताल भर्ना गरिएको थियो। अस्पताल भर्ना भएको १४ दिनभित्र उनी पूर्ण रुपमा स्वस्थ भइन्। अनुसन्धान टोली ती महिलाको रोग प्रतिरोधात्मक प्रणाली (इम्युन सिस्टम)ले कसरी संक्रमणलाई प्रतिक्रिया गर्‍यो भनेर सुक्ष्म रुपमा अनुसन्धान गरेको थियो। अनुसन्धान टोलीका एक सदस्य भन्छन्, ‘जब महिलाको स्थितिमा सुधार आउन थाल्यो त्यतिबेला उनको रक्त सञ्चारमा केही विशिष्ट प्रकारका कोसिकाहरु देखिए। ती कोसिकाहरु इन्फ्लुएन्जा संक्रमित बिरामी निको हुनुभन्दा ठिक अगाडि देखिने किसिमका थिए।’

स्वीनबर्न युनिभर्सिटी अफ टेक्नोलोजीमा हेल्थ साइन्सका डिन प्रोफेसर ब्रूस थम्सनका अनुसार यो शोधले भाइरस पहिचानमा ठूलो सहयोग पुग्नेछ। ‘जब तपाइँलाई विभिन्न किसिमका प्रतिक्रिया कतिबेला हुन्छन् भन्ने थाहा हुन्छ त्यसले भाइरसको काम गर्ने तरिका पहिचान हुन्छ।’ उनका अनुसार भाइरसको काम गर्ने तरिका थाहा भएपछि त्यसको उपचार खोज सहज हुन्छ।

प्रोफेसर केडोजियरेस्का भन्छिन्, ‘अब हाम्रो अनुसन्धान कोरोनाको संक्रमण अधिक भएको अवस्थामा रोग प्रतिरोध प्रणाली (इम्युन सिस्टम)को प्रक्रिया किन कमजोर हुनपुग्यो भन्नेमा केन्द्रित छ। जसको मृत्यु भयो उनीहरुमा कुन चिजको कमी थियो वा उनीहरुलाई अर्को कुनै घातक रोग थियो कि? यो प्रस्ट भएपछि कोरोनाविरुद्धको भ्याक्सिन बनाउन सकिन्छ।’

चीनको वुहानबाट सुरु भएको कोरोनाले अहिलेसम्म १५९ देशमा फैलिएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार कोरोनाबाट संक्रमितको संख्या झन्डै २ लाख (१,९०,६६३) पुगेको छ। डब्लुएचओ तथ्यांकअनुसार यो भाइरसबाट ७ हजार ९ सय व्यक्तिले ज्यान गुमाएका छन्। बीबीसीबाट अनुवाद

यो पनि: कोरोना महामारी नेपालसहित दक्षिण पूर्वी एसियातर्फ सोझिँदैछ, सतर्क होऊः डब्ल्यूएचओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad