समाज


गुप्तचरका अधिकृतको कारभित्र प्रहरी कार्यालय सहयोगीको गोली प्रहार गरी हत्या

अधिकृतसहित ३ जना पक्राउ
गुप्तचरका अधिकृतको कारभित्र प्रहरी कार्यालय सहयोगीको गोली प्रहार गरी हत्या

नेपालखबर
पुस १४, २०८१ आइतबार १८:५५, काठमाडौँ

बारामा नेपाल प्रहरीका कार्यालय सहयोगीको गोली हानी हत्या गरेको आरोपमा ३ जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय, सिमरामा दरबन्दी भई हाल विमानस्थल सुरक्षा गार्ड सिमरामा कार्यरत प्रहरी कार्यालय सहयोगी राजकुमार रुम्बाको हत्या भएको हो। 

उनको शव पुस ६ गते कारभित्र फेला परेको थियो। बाराको जितपुरसिमरा उपमहानगरपालिका–११, बकुलियाबाट रमौली लोसन्डा जाने सडकखण्डमा बागमती प्रदेश ०१–०२८ च ७६१६ नम्बरको विद्युतीय कारभित्र रुम्बाको शव फेला परेको थियो। 

चालक बस्ने सिटमा शव रहेको सूचना पाएपछि प्रहरीले अनुसन्धान गर्दा उक्त शव जितपुरसिमरा उपमहानगरपालिका–१ घर भई प्रहरीमै कार्यरत व्यक्तिको रहेको खुलेको थियो। शव पोस्टमार्टमका क्रममा टाउकोमा गोली फेला परेको थियो।
 
उक्त कार राष्ट्रिय अनुसन्धान विभागका अधिकृत श्रीकान्त तिवारीको भएको खुलेको छ। जितपुर सिमरा उपमहानगरपालिका–३ घर भई राष्ट्रिय अनुसन्धान कार्यालय, बारामा दरबन्दी भएका तिवारी पनि सिमरा विमानस्थलमै कार्यरत थिए। 

उनको कारभित्र शव फेला परेपछि प्रहरीले तिवारीलाई पक्राउ गरेको छ। अरू २ जना पनि पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाराको जितपुरसिमरा उपमहानगरपालिका–१९ का २७ वर्षीय पुरुषोत्तमकुमार दास र सोही ठाउँका २० वर्षीय इन्द्रजितकुमार चौहान रहेका छन्। 

दास जितपुरसिमरा- १ को जय माँ इन्जिनियरिङ वर्कसपका सञ्चालक हुन्। मृतकले लगाएको सुनको सिक्री र पर्स दासको वर्कसपबाट प्रहरीले बरामद गरेको छ। 

गुप्तचरका अनुसन्धान अधिकृतले भने सोधपुछको क्रममा मृतक रुम्बाले आफ्नो गाडी मागेर लगेको बताएको बाराका प्रहरी प्रवक्ता डीएसपी प्रकाश सापकोटाले बताए। उनीहरूलाई पहिलोपटक ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति प्राप्त भएको पनि डीएसपी सापकोटाले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad