समाज


सहकारी ठगीमा मंगलबारबाट थुनछेक बहस

सहकारी ठगीमा मंगलबारबाट थुनछेक बहस

नेपालखबर
पुस १४, २०८१ आइतबार २१:२३, पोखरा

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मंगलबारदेखि थुनछेक बहस सुरु हुने भएको छ। आइतबार सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका वयोवृद्ध कृष्णप्रसाद गुरुङ, गण्डकीकी पूर्वसांसद मीना गुरुङ र रामबहादुर खनालको बयान सकिएसँगै मंगलबारबाट थुनछेक बहस हुने निश्चित भएको हो।

अब पक्राउ परेकामध्ये सहकारीकी पूर्वकोषाध्यक्ष आरती गुरुङको मात्र बयान बाँकी छ। सोमबार गण्डकीमा ल्होसारको बिदा छ। मंगलबार अदालत खुल्नासाथ उनको बयान सुरु हुने एक अधिवक्ताको भनाइ छ। दिउसो एक बजे अदालतको खाजा खाने छुट्टि हुन्छ। त्यसपछि सम्भवतः थुनछेक बहस सुरु हुने उनले बताए।

न्यायाधीश नितिज राईको इजलासले अभियोजन दर्ता गरिएकाहरुलाई सजाय सुनाउने वा उन्मुक्ति दिने काम गर्नेछ।

सहकारी ठगीमा ३१ जना, संगठित अपराधमा १९ जना, सम्पत्ति शुद्धीकरणमा ४ जना र राष्ट्र बैंक अन्तर्गतको कसुर ९क्रिप्टो० मा २ जनाविरुद्ध अभियोग लगाइएको छ।

सहकारी ठगीमा रामबहादुर खनाल, दिपेशकुमार पुन, नेत्रपाणी बास्तोला, देवेन्द्रबाबु राई, विज्ञान राई, लिला पछाई, विश्वविक्रम राई, विशाल तामाङ, नविन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दिपक लामा, अनन्तबाबु राई र ओमप्रकाश गुरुङलाई प्रतिवादी बनाइएको छ।

यस्तै वीरबहादुर रानाभाट, दिपा न्यौपाने, कल्पना कुमारी श्रेष्ठ, ज्ञानबहादुर बम्जन, मिना गुरुङ, सूर्यध्वज न्यौपाने, आरती गुरुङ, लिलाबहादुर गुरुङ, पेशल कुमार राई, कृष्णबहादुर गुरुङ, देवकुमार नेपाली, शकुन्तला गुरुङ, मिश्रकुमारी गुरुङ, रितु ताम्राकार र लक्ष्मीप्रसाद पौडेलविरुद्ध अभियोग पत्र दायर गरिएको हो। उनीहरुविरुद्ध व्यक्तिगत र सामुहिक बिगो कायम गरिएको छ।

रास्वपा सभापति लामिछाने, पूर्वडीआईजी छविलाल जोशी, माओवादी नेता दीपेश पुनसहित ६३ लाई प्रतिवादी बनाएर एक अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ विगो दाबीसहित अभियोग पत्र दायर गरेको थियो। ५० जना व्यक्ति, ८ कम्पनीविरुद्ध सहकारी ठगीसहितको मुद्दा दर्ता भएको छ।

यस्तै, ५ जनाविरुद्ध सम्पत्ति जफतको अभियोग दायर भएको सरकारी वकिल कार्यालय कास्कीले जनाएको छ। यसअघि गत शुक्रबार १९ जनाविरुद्ध थप अभियोग दर्ता गराएको थियो।

गएको आइतबार जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति रवि लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।

लामिछानेसहित पूर्वडीआइजी छविलाल जोशी, लिला पछाईंलाई सहकारी ठगीबाहेक संगठित अपराध, सम्पत्ति शुद्धिकरणमा पनि मुद्दा थियो। सोमबार छविलाल जोशीको बयान सुरु भयो भने उनको सकेपछि पछाईंको बयान सुरु भयो। त्यसपछि लामिछानेको बयान शुक्रबार सकिएको थियो।

यिनीहरुलाई सहकारी ठगी मुद्धामा मात्र बिगो र सजाय माग गरिएको छ।

लामिछानेलाई सूर्यदर्शन सहकारी ठगीमा ३ करोड ३७ लाख ६५ हजार रुपैयाँ बिगो कायम गर्दै प्रतिवादी बनाइएको छ।  

सम्पत्ति शुद्धीकरणको कसुरमा २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ बिगो कायम गरिएको छ। उनीबाट यो बिगो भराउन र कैद सजाय गर्न पनि माग गरिएको छ।

रवि र उनकी पत्नी निकिता पौडेलका नाममा रहेको सम्पत्ति पनि जफत गर्न सरकारी वकिलको माग छ। निकितालाई पनि सम्पत्ति जफतका लागि प्रतिवादी बनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad