समाज


कोरोनाविरुद्धको चिनियाँ कदमबाट अरु देशले के सिक्ने?

कोरोनाविरुद्धको चिनियाँ कदमबाट अरु देशले के सिक्ने?

डेभिड स्यारानोस्की
चैत ६, २०७६ बिहिबार ५:२४,

कोरोना भाइरस (कोभिड–१९) संसारभर फैलिँदै जाँदा प्रकोप जटिल बन्दै गएको छ। कोरोना प्रकोपका कारण विकसित र सम्पन्न युरोप र अमेरिकासहितका देशहरु अप्ठ्यारोमा पर्दै गएपछि विश्वको ध्यान चीन तर्फ मोडिएको छ।

कोरोना फैलिनलाई रोक्न चीनले कुन विधि अपनायो? कस्ता सावधानी प्रयोग गर्यो? यो विषयमा अहिले विश्वको ध्यान केन्द्रित भएको छ।

संक्रमण फैलिन नदिन देशका सबै क्षेत्र ठप्प पार्ने चीनको कदम कोरोना संकट नियन्त्रण गर्न सक्षम छ वा छैन भनेर बुझ्न देशहरु उत्सुक भइरहेका छन्। चीनबाटै सुरु भए पनि अहिले चीनले कोरोना महामारीलाई नियन्त्रण गर्न सफल भएको छ। संक्रमित र मृत्युदर घट्दो छ।

अहिले केही मुलुकले चीनसँगको नाका बन्द गरेका छन्। दर्जनौंले कोरोना त्रास देखिएका कयौं देशसँग हवाई यात्रा तत्कालका लागि स्थगित गरेका छन्। मध्य–जनवरीमा चिनियाँ अधिकारीहरुले कोरोना नियन्त्रण गर्न उपाय अपनाउन सुरु गरेका थिए। कोरोनाको उद्गमस्थल वुहानमा आवतजावतमा प्रतिबन्ध लगाइएको थियो। कतिसम्म भने सो सहरलाई जोड्ने सडकमार्ग समेत भत्काइएको थियो। अहिले सो सहर कोराना संक्रमण मुक्त भइसकेको छ।

वुहानमा मात्र नभई ६ करोड जनसंख्या भएको हुपेइ प्रान्तका अन्य १५ शहर पनि ठप्प पारिएका थिए। हवाई र रेल सेवा स्थगित गरिएको थियो। त्यसको केही समयमै चीनले अन्य शहरका मानिसहरुलाई घरमै बस्न निर्देशन दियो। खाना र स्वास्थ्य सहायताका लागि मात्र बाहिर निस्कन भनियो। न्युयोर्क टाइम्सका अनुसार महामारी फैलिन नदिन ७ सय ६० मिलियन मानिसलाई घरबाट बाहिर ननिस्कन भनिएको थियो।

अहिले चीनका प्रायः सबै स्थान ठप्प पारिएको झन्डै दुई महिना भएको छ। अमेरिकाको मिनिसोटा विश्वविद्यालयका संक्रमक रोग विशेषज्ञ तथा वैज्ञानिक माइकल ओस्टरहोल्म भन्छन्, ‘आफ्नो जनसंख्याको गतिविधि रोक्ने कडा कदम चालेर चीन कोरोना नियन्त्रण गर्न सफल देखिएको छ।’ गत महिना विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले पनि कोरोना नियन्त्रण गर्न सफल भएको भन्दै चीनलाई धन्यवाद दियो। डब्लूएचओले चीनले प्रकोप नियन्त्रण गर्न अनौठो र अभूतपूर्व उपाय अपनाएको भनेको थियो।

अहिले उब्जिएको महत्वपूर्ण सवाल भनेको एउटै छः चीनको कुन उपाय कोरोनाविरुद्ध प्रभावकारी भएको हो?

हङकङ विश्वविद्यालयका सरुवारोग विशेषज्ञ तथा अनुसन्धानकर्ता ग्याब्रियल लियुङ भन्छन्,‘जुन देशले पहिलो पटक कोरोना भाइरसको तरङ्ग अनुभव गरिरहेका छन्, अहिले उनीहरुले यो सबै प्रक्रिया बुझ्न जरुरी छ। संक्रमण फैलिन नदिन ती उपायबाट सिक्दा लाभ हुनेछ।’

शहर ठप्प पारेपछि के भयो?
चीनले कोरोना नियन्त्रण गर्ने उपाय कार्यान्वयन गर्नुअघि वैज्ञानिकहरुले संक्रमित एक व्यक्तिले अन्य दुईभन्दा बढीमा संक्रमण पु¥याउने र कोरोना तीव्र गतिमा फैलिने अनुमान गरेका थिए। जब शहरहरु ठप्प पारिए तर वैज्ञानिकहरुको अनुमान सत्य भएन। पहिलो ७ दिनमै कोरोना संक्रमण दर घट्न थाल्यो। लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रोपिकल मेडिसिनका विज्ञ आडम कुचस्र्की भन्छन्, ‘वैज्ञानिकले अनुमान गरेअनुसार भाइरस फैलिएन। त्यो आश्चर्यजनक थियो।’

कोरोना संक्रमण चीनमा जनवरी २५ देखि उच्च बन्यो। त्यसबेला वुहान ठप्प पारेको दुई दिन मात्र भएको थियो। डब्लूएचओका अनुसार मर्च १६ सम्ममा चीनमा ८१ हजार कोरोना संक्रमित थिए।

यतिबेलासम्म चीनमा कोरोनाबाट संक्रमित र मृतकको दर घट्न थालेको थियो। त्यसपछि चीनका धेरै स्थानमा कोरोना संक्रमित देखिन छाडे। कोरोना संकेत नदेखिएका स्थानमा उपचारको खाँचो भएन। अक्सफोर्ड युनिभर्सिटीका महामारीविज्ञ क्रिस्टोफर डाइ भन्छन्, ‘चीनले कोरोनाविरुद्ध अपनाएको उपायले परिणाम दिएको प्रस्ट छ। यसबाट अरु देशहरुले सिक्न सक्छन्।’

संक्रमण फैलिन नदिन चीनका २९६ शहर ठप्प पारिएको थियो। अध्ययनअनुसार जुन शहर ठप्प पारिए त्यहाँ अन्य खुला शहरका संक्रमितको संख्यामा भन्दा ३७ प्रतिशत कम संक्रमित देखिए।

चिनियाँ कदम अझ प्रभावकारी बन्न सक्थ्यो?
महामारीविज्ञहरु चीनको कोरोनाविरुद्धको अभियान समस्यारहित नभएको बताउँछन्। उनीहरुको भनाइ छः चीनले पनि ढिलो काम सुरु गरेको हो। गत डिसेम्बर र जनवरी सुरुवातमा कोरोना देखिएको थियो। त्यतिबेला वुहानका अधिकारीहरुले यो रहस्यमयी भाइरस संक्रमणकबारे जानकारी दिन ढिला गरे। जानकारी अभवामा यसविरुद्ध कदम चाल्न ढिला भयो।

अमेरिकास्थित मिचिगन युनिभर्सिटीका सार्वजनिक स्वास्थ्य अनुसन्धानकर्ता हावार्ड मर्केल भन्छन्,‘त्यो ढिलासुस्ती सम्भवतः अहिले विश्वमा देखिएको प्रकोपका लागि जिम्मेवार छ। सुरुमै यसको पहिचान गरिएको भए यसको क्षति अझ कम पार्न सकिने थियो।’

बेलायतको साउथह्याम्पटन विश्वविद्यालयका अनुसन्धानकर्ता लाई सेन्जी र एन्डु तातेमले गरेको अनुसन्धानअनुसार यदि चीनले कोरोनाविरुद्धको कदम एक हप्ता अगाडि चालेको भए त्यहाँ अहिले संक्रमण देखिएभन्दा ६७ प्रतिशत मानिस कोरोना संक्रमित हुनबाट जोगिने थिए।

भ्रमण प्रतिबन्धले कति काम गर्‍यो?
चीनले हुपेइ प्रान्तमा भ्रमण प्रतिबन्ध लगाउने निर्णयले कोरोना नियन्त्रणमा महत्वपूर्ण भूमिका खेलेको चौतर्फी बुझाइ छ। त्यहाँ हवाई, रेल, सवारी साधनमा भ्रमण गर्न प्रतिबन्ध लगाइएको थियो। गत मार्च ६ मा इटली, चीन र अमेरिकाका वैज्ञानिकले गरेको अध्ययनमा हुपेइ र वुहानमा प्रतिबन्ध लागेपछि अन्य शहरबाट भाइरस फैलिन सुरु भएको उल्लेख छ। अन्तर्राष्ट्रिय शहरहरुमा कोरोनाको संक्रमण पुष्टि हुन थालेपछि कोरोना विश्वव्यापी बन्न थालेको हो।

हाल युरोप, अमेरिका, अफ्रिका र एसियाली महादेशले चिनियाँ शैलीमै अन्तर्राष्ट्रियस्तरमा भ्रमण प्रतिबन्ध लगाएका छन्। यसअघि चीनको एक दुई शहरमा सीमित भ्रमण प्रतिबन्ध अहिले अन्तर्राष्ट्रिय स्तरमा पुगेको हो।

अन्य देशले के सिक्ने?
बेलायती अनुसन्धानकर्ता लाई सेन्जी र एन्डु तातेमको अनुसन्धानअनुसार कोरोना चाँडै नियन्त्रणमा ल्याउन शहरहरु ठप्प पारिनुपर्छ। सामाजिक सम्पर्क स्थगित गरिनुपर्छ र भ्रमणमा प्रतिबन्ध लगाउनुपर्छ। यदि चीनले यी उपायहरु नअपनाएको भए फेब्रुअरीको अन्त्यसम्ममा ८० लाख मानिसहरु कोरोनाबाट संक्रमित बन्ने थिए।

संक्रमण फैलिन नदिन चीनमा मनिसहरुको सम्पर्क घटाइयो जसले कोरोना नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्यो। तर चीनमा कोरोना समयमै पहिचान हुनु र त्यसबाट बच्ने उपाय अपनाउनुले पनि कोभिड–१९ को नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।

चाँडै कोरोनाको प्रकोप पहिचान गर्दा सिंगापुरलाई लाभ भयो। सिंगापुरमा कोरोनाको पहिलो संक्रमण देखिएदेखि नै त्यहाँ मानिसहरुलाई क्वारेन्टाइनमा राखियो। उनीहरुको गतिविधि नियाल्न थालियो। हालसम्म सिंगापुरमा कोरोनाबाट कसैको मृत्यु भएको छैन। त्यहाँ चीनले अपनाएका उपाय पूर्ण अबलम्ब गरिएको छ।

चीनमा नाटकीय रुपमा कोरोना संक्रमित र मृत्यु दर घट्दै गएको छ। यदि चीनले कोरोनाविरुद्ध अपनाएका विधिबाट पछि हटे फेरि संक्रमण फैलन्छ कि भने त्रास अहिले छ। हङकङ विश्वविद्यालयका सरुवारोग विशेषज्ञ ग्याब्रियल लियुङ भन्छन्,‘हालसम्म कोरोनाविरुद्ध अपनाएको कदमले चीन आफ्ना नागरिक बचाउन सफल भएको हो। तर चीनमा धेरै प्रतिरक्षा प्रणाली कमजोर भएका मानिस छन् जसले भाइरसको प्रभाव थाम्न सक्दैनन्।’

चिनियाँ राष्ट्रपति सी चिनफिङले कोरोनाको उद्गमस्थल वुहान पुगेर गतहप्ता कोरोनाको प्रभाव चीनमा समाप्त भइसकेको बताए। ‘कारोनाविरुद्ध अपनाइएको उपाय कुनै विन्दुमा पुगेर रोकिन्छ। सरकारले स्वस्थ समाजका लागि सामाजिक सम्पर्कलाई व्यवस्थापन गर्नुपर्छ भनेर सम्झाइ रहनुपर्छ। यद्यपि सरकारी उपायभन्दा बढी मानिसको व्यक्तिगत कार्यले कोरोना सर्ने नसर्ने निर्भर गर्छ’, इम्पेरियल कलेज लन्डनका महामारीविज्ञ रोए एन्डर्सन भन्छन्। (नेचर डटकमबाट अनुवाद)

यो पनि:

कोरोनाभाइरसको संकेत देखिए के गर्ने? यस्ता छन् बच्ने उपायहरु

विश्व स्वास्थ्य संगठनले कोरोनाबारे भ्रम हटाउन सार्वजनिक गर्‍यो १५ सुझाव

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad