समाज


राजमार्गमा दुई दिन खोजी गर्दा चारवटा सिलिन्डर बम फेला

राजमार्गमा दुई दिन खोजी गर्दा चारवटा सिलिन्डर बम फेला

नेपालखबर
पुस २५, २०८१ बिहिबार २०:२०, विराटनगर

राजमार्गमा सशस्त्र द्वन्द्वको बेलामा लुकाएर राखिएका सिलिन्डर बम दुई दिन लगाएर नेपाली सेनाले डिस्पोज गरेको छ।

बुधबारदेखि सर्चमा खटिएको नेपाली सेना र नेपाल प्रहरी सहितको टोलीले बम राखिएको भनिएको ठाउँ पत्ता लगाउन दुई दिनपछि आज साँझ डिस्पोज गरेको छ। नेकपा माओवादी पार्टीका नेता कार्यकर्ताले युद्धको समयमा लुकाएर राखेको सिलिन्डर बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको हो।  

पूर्वपश्चिम राजमार्ग अन्तरगत मोरङको सुन्दरहरैंचा–७ स्थित गोठ गाउँ ठडियाको मालती पुल मुनी माओवादी सशस्त्र युद्धको समयमा राखिएका चारवटा सिलिन्डर बम नेपाली सेनाले निष्क्रिय बनाएको हो।  

जिल्ला प्रशासन कार्यालयमा आएको सूचनाको आधारमा प्रशासन कार्यालयले जिल्ला प्रहरी कार्यालय मोरङलाई पत्र लेखेपछि त्यस क्षेत्रमा सर्च अभियान चलाइएको प्रहरीले जनाएको छ।  

मालती पुलको मुनी बम रहेको भन्ने सूचनाको आधारमा नेपाली सेनाको बम डिस्पोजल टोलीले खोजी गरेको थियो। नेपाली सेनाको टोलीले गाडिएको अवस्थामा सिलिन्डर बम फेला पारेको थियो। त्यस क्रममा सेनाको बम डिस्पोजल टोलीले बम निष्क्रिय बनाएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी बेदप्रकाश जोशीले जानकारी दिए।

‘दुई दिन पहिला त्यस क्षेत्रमा सिलिन्डर बम रहेको हुनसक्ने भन्दै जिल्ला प्रशासनलाई जानकारी आएपछि हामीलाई पत्र आएको थियो’, डीएसपी जोशीले भने, ‘हिजो र आज दिनभरिको प्रयास पछि चार वटा सिलिन्डर बम निष्क्रिय पारेका छौँ।’

सिलिन्डर बम भएको थाहा पाएपछि त्यहाँ पुगेको नेपाली सेनाको डिस्पोजल टोलीले बम निष्क्रिय गर्ने क्रममा ठूलो आवाजका साथ विस्फोट भएको थियो। बुधबार दिनभरि र बिहीबार बिहानैदेखि पूर्वपश्चिम एसियन हाइवेको उक्त खण्डमा आवत जावत बन्द गरिएको थियो। बमको खोजी गर्न र निष्क्रिय गर्न नेपाली सेनाको टोलीलाई दिनभरि लागेको थियो।

बेलुका ५ बजेसम्म सो क्षेत्रमा सर्वसाधारणलाई आवत जावतमा रोक लगाइएको थियो। खोजी गर्ने क्रममा चारवटा सिलिन्डर बम फेला परेको थियो। दुईवटा विस्फोट भएको र दुईवटा खाली सिलिन्डर नेपाली सेनाको बम डिस्पोजल टोलीले लगेको डीएसपी जोशीले जानकारी दिए।  

अन्य क्षेत्रमा पनि त्यस्तो बम भएको हुनसक्ने आशंकामा अहिले पनि सर्च अभियान चलाइएको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad