समाज


रविको थुनछेक बहस चलिरहँदा न्यायाधीशले भने– आज नसकिने भयो

रविको थुनछेक बहस चलिरहँदा न्यायाधीशले भने– आज नसकिने भयो

नेपालखबर
पुस २९, २०८१ सोमबार १५:३४, काठमाडौँ

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीले रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको थुनछेक बहस आज नसकिने भएको बताएका छन्।

बहस लम्बिँदै गएको र तोकिएको सीमा पालना नभएको कारण आज थुनछेक बहस नसकिने उनको भनाइ छ।

बिहान बहस सुरु हुनुअघि न्यायाधीश अधिकारीले सरकारी वकिलका तर्फबाट २ घन्टा र अभियुक्त रवि लामिछानेका तर्फको बहस सवा १ घण्टामा सक्न निर्देशन दिएका थिए। 

तर सरकारी वकिलतर्फको बहस तोकिएभन्दा एक घण्टा लम्बिएको थियो। त्यसपछि जाहेरवालाका तर्फबाट डा सुरेन्द्र भण्डारी बहस गर्दै छन्।

भण्डारीले बहस गरिरहँदा न्यायाधीश अधिकारीले बहस लामो हुँदै गएको र तोकिएको समयसीमा पालना नभएको भन्दै ध्यानाकर्षण गराएका थिए। 

जवाफमा भण्डारीले यो हजारौँ पीडित बचतकर्ताको रकम संगठित र योजनाबद्ध तवरले गरिएको ठगीजस्तो गम्भीर मुद्दामा हतार गर्न नहुने बताएका थिए। उनले आफूलाई समयसीमा नतोक्न पनि आग्रह गरे। 

उनलाई न्यायाधीशले समयसीमा तोकेका छैनन्। न्यायाधीश अधिकारीले ३ बजेभित्र बहस सकेमा आजै आदेश गर्न सकिने बिहानै बताएका थिए। तर अब ढिला भएकाले आज आदेश आउने सम्भावना नरहेको उनले संकेत गरेका छन्।

यसबीचमा रविका तर्फबाट बहस गर्न उपस्थित भएका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले ‘बहस जति लम्बिए पनि लम्बयोस्, आपत्ति भएन तर हिजोको जस्तो आदेश गर्न नहुने’ बताएका थिए।

रवि आफै अदालतमा उपस्थित भएकाले हिरासतमा पठाउन नमिल्ने उनको तर्क थियो।

रमनलाई जवाफ दिँदै भण्डारीले यस मुद्दामा कानुनी प्रक्रियामै गडबडी गरिएको बताए।

उनले भने, ‘कास्कीको आदेशपछि प्रहरीले पक्रेर काठमाडौँ प्रहरीलाई बुझाउनुपर्ने थियो। यहाँ कानुनी प्रक्रियामै गडबडी गरिएको छ। अदालतबाट पक्राउ पुर्जी जारी भएका व्यक्तिलाई आफै उपस्थित हुने छुट दिनु नै गलत थियो।’

बहस जारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad