कोरोना भाइरसको संक्रमणबाट रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका, प्रौढ तथा वृद्ध मात्र नभएर युवा पनि जोखिममा रहेको भन्दै होस पुर्याउन विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले चेतावनी दिएको छ।
अहिलेसम्म यसको अधिक चपेटमा वृद्ध उमेकार व्यक्ति परिरहेका भए पनि युवा पनि यसको खतराबाट मुक्त नरहेको भन्दै होसियार अपनाउन डब्ल्यूएचओले सुझाव दिएको हो।
विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले भनेका छन्, ‘युवाका लागि मेरो सन्देश छ। तपाईंहरू जोखिममुक्त हुनुहुन्न। यो भाइरस तपाईंलाई हप्तौंका लागि अस्पताल पुर्याउन सक्छ र ज्यान पनि लिन सक्छ। तपाईं बिरामी नभए पनि कसैका लागि जीवन र मरणको कारक बन्न सक्नुहुन्छ।’
कोभिड १९ का कारण अहिलेसम्म विश्वभर ११ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ र अढाई लाखभन्दा बढी संक्रमित भइसकेका छन्।
अहिलेसम्मका रिपोर्टले वृद्ध उमेरका व्यक्तिलाई मात्रै कोरोना संक्रमणको उच्च जोखिम रहेको देखाएकाले युवाले लापरबाही गर्न थालेपछि विश्व स्वास्थ्य संगठनले यस्तो चेतावनी दिएको हो।
चीनमा कोरोनाका कारण ज्यान गुमाउने १ प्रतिशतभन्दा थोरै मानिस ५० वर्षमुनिका पनि रहेको न्यूयोर्क टाइम्सले जनाएको छ। तर १५ प्रतिशतभन्दा धेरै ८० वर्ष उमेर कटेका रहेकाे पाइएको छ।
Shares

प्रतिक्रिया