भक्तपुरको चाँगुनारायण नगरपालिकामा बन्ने भनिएको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको भवन निर्माण नभएपछि जनप्रतिनिधि र स्थानीय आक्रोषित भएका छन्।
केन्द्रले भवन निर्माण गरी अस्पताल स्थानान्तरण गर्ने भन्दै चाँगुनारायण नगरपालिकामा वडा नम्बर ३ स्थित झौखेलमा जग्गा प्राप्ति गरेको ४ वर्ष पुग्न लाग्दा पनि निर्माण कार्य सुरु नभएपछि जनप्रतिनिधि र स्थानीय आक्रोशित भएका हुन्।
केपी शर्मा ओली नै प्रधानमन्त्री छँदा मन्त्रिपरिषद्ले २०७८ जेठ १३ गते केन्द्रकै मागबमोजिम झौखेलमा रहेको ३१ रोपनी ३ आना सार्वजनिक जग्गा ३० वर्षका लागि भाडामा दिने निर्णय गरेको थियो। तर जग्गा प्राप्तिको निर्णय भई अस्पतालका नाममा जग्गा लिज सम्झौता प्रमाणपत्रसमेत प्राप्त भइसक्दा पनि अस्पताल प्रशासनले भवन निर्माणको काममा आलटाल गर्दै अएको स्थानीयको आरोप छ।
चाँगुनारायण नगरपालिकामा वडा नम्बर ३ का अध्यक्ष श्यामसुन्दर धिमालले जग्गा लिज दिने निर्णय भएको चार वर्षमा पनि अस्पताल प्रशासानले कुनै चासो नदेखाएको बरु विभिन्न बहानाबाजी गर्दै आलटाल गर्ने गरेको गुनासो गरे। उनले अस्पताल निर्माणका लागि सरकारले डीपीआरको लागि मात्रै एक करोड र जग्गा सीमांकनका लागि २८ लाख रुपैयाँ छुट्याएकोमा हालसम्म रकम नै खर्च गर्न नसकेको भन्दै अहिले पनि अस्पताल निर्माणको लागि पर्याप्त बजेट दिएको उल्लेख गरे। उनले अस्पतालको भवन निर्माणका काम तत्काल सुरु गर्न सम्बन्धित निकायलाई आग्रह पनि गरे।
केन्द्रले हाल अस्पतालको सेवा भक्तपुर नगरपालिका वडा नं १ दूधपाटीमा रहेको साँंघुरो एउटा भवनबाट मात्रै दिँदै आएको छ। यता स्थानीयले भने राजनीतिक पहुँचको आधारमा अस्पताल अन्यत्रै स्थानान्तरण गर्ने खेल भएको भन्दै आक्रोश जनाएका छन्। नगरकै गौरवको आयोजनाको रूपमा रहेको उक्त केन्द्र स्थानान्तरण गर्न खोजिए त्यसविरुद्ध उत्रिने चेतावनीसमेत उनीहरूले दिएका छन्।
प्रत्यारोपण केन्द्रको भवन निर्माण सुरु नभएको भन्दै जनप्रतिनिधि र स्थानीय आक्रोशित भइरहँदा त्यसैको प्रांगणमा रहेको नेपाल मेडिकल कलेजले सञ्चालन गरेको सामुदायिक स्याटलाइट स्वास्थ्य केन्द्रको हालत भने दर्दनाक छ। कोरोना महामारीअघि व्यस्त रहँदै आएको अस्पतालमा हाल भने प्रेसर र सुगरको जाँचबाहेक अन्य कुनै पनि सेवा उपलब्ध छैन।
भारत सरकारको सहयोगमा निर्माण भएको उक्त अस्पतालमा डाक्टरसमेत आउन छोडिसकेका छन्।
Shares

प्रतिक्रिया