समाज


‘अनलाइन’ जुवामा संलग्न २४ जना पक्राउ, तीन अर्बभन्दा बढीको कारोबार

‘अनलाइन’ जुवामा संलग्न २४ जना पक्राउ, तीन अर्बभन्दा बढीको कारोबार

नेपालखबर
माघ २०, २०८१ आइतबार २१:३१, काठमाडौँ

‘बेटिङ एप्लिकेसन’मार्फत विश्वभर सञ्चालन हुने विभिन्न अवैध अनलाइन जुवा (सट्टेबाजी) लगायतमा रु तीन अर्ब बढी करोबारमा संलग्न २४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा १० भारतीय र १४ नेपाली नागरिक रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी, प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए। पक्राउ पर्ने नेपालीमा प्यूठानका टङ्कबहादुर पछाई, रवि विष्ट, लक्ष्मण विष्ट, अविनाश जिसी, हरिबहादुर जिसी, समीर खड्का, विक्रम पछाई, अशोक जिसी, सुजन जिसी र गोपाल बिष्ट, डोटीका तेज बोगटी, सुर्खेतका भीष्म वली र हेमन्त लोहनी तथा दार्चुलाका हेमन्त धामी रहेका छन्।

पक्राउ पर्ने भारतीय नागरिकमा अजितकुमार, मुकेश मण्डल, मनोज कुमार, सुमित खत्री, प्रबात कुमार, ओमप्रकाश खत्री, रविप्रकाश विश्वकर्मा, रवि अभिषेक ओझा, शिवम पाण्डेय र मनोजप्रकार कुमार छन्।

उनीहरूले आठभन्दा बढी ‘बेटिङ साइट’को प्रयोग गरी भारतीय बेटिङ खेल्ने ‘एजेन्ट’हरुसँग सामाजिक सञ्जालबाट सम्पर्क गरी ‘अफ लाइन’ अवैध खेल खेलाएको पाइएको छ। यसरी हारजित भएको रकम भारतको विभिन्न बैङ्क खातामै जम्मा गर्ने र निकाल्ने गरी अनलाइन जुवा खेल्ने खेलाउने कार्य भइरहेको सूचनाका आधारमा पक्राउ गरिएको प्रहरी उपरीक्षक आचार्यले बताए।

ललितपुरको सानेपास्थित दुई घर भाडामा लिएर व्यावसायिक तवरले अनलाइन जुवा खेल्ने र खेलाउने कार्य गरेको पाइएको छ। खोजतलासका क्रममा उनीहरुलाई शनिबार पक्राउ गरी आज सार्वजनिक गरिएको हो । लगत्तै आजै उनीहरुलाई थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुरमा बुझाइएको छ।

‘बरामद गरिएका ल्यापटप तथा मोबाइलको प्रारम्भिक अनुसन्धान गर्दा उनीहरुले रु तीन अर्ब चार करोड ७३ लाख ५६ हजार बराबरको अनलाइन जुवा कारोबार गरेको देखिएको छ’, प्रहरी उपरीक्षक आचार्यले भने।

उनीहरुमाथि मुलुकी अपराधसंहिता, २०७४ को परिच्छेद– ५ को दफा १२५ (जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने र विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिमका कसुरमा आवश्यक अनुसन्धान थालिएको छ। पक्राउ परेकाहरुका साथबाट विभिन्न मोडेलका ५७ थान मोबाइल, १३ थान ल्यापटप, ३४ थान बैङ्कको एटिएम कार्ड, ८८ थान सिमर्कार्ड, १२ थान चेकबुक, आठ थान भारतीय आधारकार्ड र ६ थान राहदानी बरामद गरिएको छ। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad