समाज


सशस्त्र प्रहरीमा तीन डीआईजी बढुवा, कुँवरको छलाङ

सशस्त्र प्रहरीमा तीन डीआईजी बढुवा, कुँवरको छलाङ

नेपालखबर
फागुन ८, २०८१ बिहिबार २३:७, काठमाडौँ

सशस्त्र प्रहरी बल नेपालमा रिक्त तीन सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) को पदमा बढुवा सिफारिस गरिएको छ।

बिहीबार बेलुका बसेको गृहसचिव नेतृत्वको बढुवा समितिको बैठकले तीन जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो।

सिफारिस हुनेमा कृष्ण ढकाल, दीपेन्द्र कुँवर र विष्णुप्रसाद भट्ट रहेका छन्। 

यसपटकको बढुवमा सशस्त्र प्रहरीमै भर्ना भएको दोस्रो ब्याचले छलाङ मारेको छ। ढकाल ब्याच नं १ का हुन् भने कुँवर र भट्ट दोस्रो ब्याचबाट आएका छन्। पहिलो ब्याच र त्यसभन्दा पनि सिनियर अधिकारीहरुलाई छुटाएर कुँवर र भट्टलाई बढुवा गरिएको छ। 

नेपाल प्रहरीको प्राविधिकबाट आएका कृष्णराज पाठक सबैभन्दा सिनियर एसएसपी थिए। तर उनलाई यसपटक पनि बढुवा गरिएन। 

यस्तै पहिलो ब्याचका मनीष थापा पनि बढुवामा पछि परे। उनकै ब्याची पाँचजना डीआईजीमा बढुवा भइसकेका छन्। डीआईजी सुरेश श्रेष्ठ, अञ्जनी पोख्रेल, दीपेन्द्र शाह, पुरुषोत्तम थापा र दीपक अधिकारी उनकै ब्याची हुन्।

सशस्त्रमै भर्ना भएको टोलीका लागि डीआईजी बन्न स्टाफ कलेज अनिवार्य छ। यसअघि तीनपटकमा स्टाफ कलेज पास गरिसकेको हुनुपर्ने व्यवस्था थियो। तर एसएसपी ढकालले तीनपटकमा पनि स्टाफ कलेज पास नगरेपछि उनकै लागि व्यवस्था नै परिवर्तन गरेर ५ पटकसम्म स्टाफ कलेज दिन पाउने व्यवस्था मिलाइएको थियो। त्यसपछि मात्रै ढकाल पास भएका थिए। अहिले डीआईजीमा पनि उनले शक्तिको प्रभाव देखाएका छन्। 

१ र २ ब्याचअघिका नेपाल प्रहरीबाट आएका एसएसपी प्रवीण कँडेल पनि डीआईजीमा अटाउन सकेनन्। उनीहरूलाई छुटाएर दोस्रो ब्याचबाट दीपेन्द्र कुँवर र विष्णुप्रसाद भट्टलाई बढुवा गरिएको हो।

गत भदौ १६ गतेदेखि नै सशस्त्र प्रहरीमा दुईजना डीआईजीको दरबन्दी रिक्त थियो। रिक्त भएको झण्डै ५ महिनासम्म बढुवा नगरी राखिएको थियो। डीआईजी अभिकुमार खत्री र दुर्गाप्रसाद भट्टराई ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकास भएका थिए। अर्का डीआईजी किशोर प्रधान डीआईजीबाटै अवकास भएपछि रिक्त पद संख्या तीन पुगेको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad