समाज


बागमतीको बहाव बढाउन छोडियो मेलम्चीको पानी

बागमतीको बहाव बढाउन छोडियो मेलम्चीको पानी

फाइल तस्बिर


नेपालखबर
फागुन १४, २०८१ बुधबार १४:४७, काठमाडौँ

शिवरात्रिको समयमा बागमती नदीमा पानीको बहाव बढाउन मेलम्चीको पानी नदीमा छाडिएको छ। पशुपतिमा दर्शन गर्न आउने भक्तजनलाई नदीमा स्नान गर्न सहज बनाउने तथा सुन्दरता बढाउने उद्देश्यले पानी छाडिएको हो। 

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले बागमतीमा मेलम्चीको पानी प्रतिसेकेन्ड करिब एक हजार लिटर बगाइएको जानकारी दिए। 

'हामीले अरु समयमा पनि छ सय लिटर प्रतिसेकेण्ड खोलामा पानी बगाउने गरेका थियौँ। आयोजनाको क्षमता १७ करोड भनिए पनि अहिले हामीले २३ करोड लिटर खानेपानी प्रतिदिन ल्याएका छौँ। त्यसमध्ये २० करोड उपभोक्तालाई वितरण गरेर बाँकी तीन करोड नदीमा बगाउँछौँ', उनले भने, 'शिवरात्रिमा मात्रै नभएर मेलम्चीले अरु पर्व तथा दैनिक रूपमा बागमतीमा पानीको बहाव बढाउन सहयोग गरिरहेको छ।'

उनका अनुसार बिहीबार बिहान ८ बजेसम्म शिवरात्रिका लागि पानी बगाइने छ। 'मनसुनजन्य विपद्बाट मेलम्ची खानेपानी आयोजनालाई जोगाउनका लागि केही महिना आयोजना बन्द गर्नुपरेको थियो, त्यसबेला धाप ड्यामको पानी ल्याएर काठमाडौँका उपभोक्ताको आवश्यकता पूरा गरेका थियौँ,' लामिछानेले भने, 'आगामी वर्षामा पनि धाप ड्यामको पानी ल्याएर वितरण गर्नेछौँ।'

गत वर्षको शिवरात्रिमा एकीकृत बागमती सभ्यता विकास समितिअन्तर्गत बागमती सुधार आयोजनाले छठपर्वमा धाप ड्यामको पानी बागमती नदीमा बगाएको थियो। 

बागमती सुधार आयोजनाका उपआयोजना निर्देशक एवं सूचना अधिकृत उद्धव नेपालले नदीमा पानीको बहाव बढाउन र बर्तालुलाई स्नानका लागि सहज बनाउन मेलम्चीसँग पानी सापटी लिइएको जानकारी दिए।

'शिवरात्रि, छठजस्ता विषेश दिनमा हामीले ड्यामको पानी बागमतीमा छोड्दै आइरहेका थियौँ', उनले भने, 'यसपटक शिवरात्रिमा ड्यामको पानी परीक्षण गर्न बाँकी भएकाले आगामी वर्षामा मेलम्ची खानेपानी आयोजनालाई ड्यामको पानी दिने गरी सापटी गरेका हौँ।'

धाम ड्याममा वर्षाको समयमा आकाशबाट परेको पानी जम्मा गर्ने र हिउँदको समयमा बागमती नदीमा छाड्ने लक्ष्यका साथ आयोजना निर्माण गरिएको थियो। वर्षात्को समयमा यहाँ जम्मा गरिएको पानी हिउँदको समयमा प्रतिसेकेण्ड चार सय प्रतिलिटरका दरले बागमतीमा छोड्ने आयोजनाको लक्ष्य छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad