समाज


सिन्धुपाल्चोकमा गएको ६.१ को भूकम्पले दिने सन्देश के हो?

गोरखा भूकम्पपछि गइसके ५५ हजार भन्दा धेरै परकम्प
सिन्धुपाल्चोकमा गएको ६.१ को भूकम्पले दिने सन्देश के हो?

वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारी


जनार्दन पोखरेल
फागुन १६, २०८१ शुक्रबार १३:७, काठमाडौँ

गएराति सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर गएको भूकम्प नौवर्षअघि गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पकै परकम्प भएको भूकम्पविद्ले बताएका छन्। 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीले ठूलो भूकम्पछि त्यसको परकम्प लामो समयसम्म गइरहने बताए। 

शुक्रबार राति २ बजेर ५१ मिनेट जाँदा सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर ६.१ म्याग्नेच्युडको भूकम्प गएको थियो। सो भूकम्पको धक्का मध्य नेपालका धेरै जिल्लासहित भारत र तिब्बतमासमेत महसुस गरिएको छ। 

‘गएरातिको भूकम्प २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ७.६ रेक्टर स्केलको शक्तिशाली भूकम्पकै परकम्प हो,’ वरिष्ठ भूकम्पविद् अधिकारीले नेपालखबरसँग भने, ‘यस्ता परकम्प यो क्षेत्रमा लामो समयसम्म जान सक्छन्।’

उनले ठूलो भूकम्प गएको क्षेत्रमा त्यो भन्दा ठूलो भूकम्प गए मात्रै त्यसलाई नयाँ भूकम्प भनिने बताए। 

‘यो क्षेत्रमा गोरखा भूकम्पभन्दा साना जति पनि भूकम्प जान्छन्, ती सबै भूकम्पलाई परकम्प नै भनिन्छ,’ अधिकारीले परकम्पको विषयलाई अझ प्रष्ट पार्दै भने, ‘०७२ को गोरखा भूकम्पले यस क्षेत्रको पृथ्वीको गर्भमा ल्याएको हलचल अझै सामान्य अवस्थामा फर्किसकेको छैन। चट्टानहरु आपसमा मिलिसकेका छैनन्। यसले गोरखा भूकम्पको असर अझै बाँकी छ भन्ने देखाउँछ।’

उनले परकम्प कहिलेसम्म जान्छन् यकिन गरेर भन्न नसकिने बताए। अधिकारीका अनुसार अमेरिकामा दुईसय वर्षअघि गएको शक्तिशाली भूकम्पको परकम्प अझै गइरहेका छन्। 

‘हाम्रोमा १९९० सालमा पूर्वी नेपालकाे  संखुवासभाको चैनपुरलाई केन्द्रविन्दु भएर गएकाे ८.३ रेक्टर स्केलको महाभूकम्पकाे परकम्प कहिलेसम्म गयो, त्यसको रेकर्ड हामीसँग छैन। केही किताबमा त्यतिबेला ६ महिनासम्म परकम्प गएको उल्लेख छ। तर, त्यो भन्दा लामो सयमसम्म परकम्प गयो होला।’ नेपालले भूकम्पको व्यवस्थित अभिलेख राख्न थालेको २०३७ सालपछि मात्रै हो। 
 
भूकम्पविद् अधिकारीले गोरखा भूकम्पपछि त्यसका ५५ हजारभन्दा धेरै परकम्प गइसकेका जानकारी दिए। उनले गएराति सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर गएको भूकम्प मध्यमस्तरको भएको बताए। 

‘यो स्तरको भूकम्पले पनि कमजोर संरचनाहरु भत्किन सक्छन्,’ उनले भने, ‘तर गोरखा भूकम्पछि यस क्षेत्रमा धेरै संरचना पुनर्निर्माण भएका छन्। मापदण्डअनुसार बनेका नयाँ र बलिया संरचनाको कारण आजको भूकम्पले धेरै क्षति गरेन।’

उनले यही स्तरको भूकम्प पश्चिम नेपालमा जाने हो भने धेरै संरचनामा क्षति पुग्न सक्ने बताए। ‘आजको भूकम्पले धेरै संरचनामा क्षति नपुग्नुको मुख्य कारण गोरखा भूकम्पपछि यस क्षेत्रमा बनेका नयाँ र बलिया संरचना नै हुन्,’ अधिकारीले भने, ‘भूकम्पको क्षतिबाट बच्नको लागि संरचना बलिया र मापदण्ड अनुसार निर्माण गर्नुपर्छ भन्ने सन्देश आजको भूकम्प दिएको छ।’

साना भूकम्प गएको ठाउँमा ठूलो भूकम्प जाने शक्ति संचित छ भन्ने हुन्छ। भूकम्पविद् अधिकारीका अनुसार जहाँ साना भूकम्प गइरहन्छन्, त्यहाँ ठूलो भूकम्प जाने सम्भावना सधैँ रहन्छ।

भूकम्प मापन केन्द्रले अहिले २ रेक्टरस्केल भन्दा माथिका भूकम्पको रेकर्ड राख्न थालेको छ। काठमाडौँ उपत्यका क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गए २ रेक्टर स्केल भन्दा साना भूकम्पको पनि रेकर्ड राख्ने गरिएको अधिकारी बताउँछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad