नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेका रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ चलिरहेको छ।
न्यायाधीशद्वय कुमार चूडाल र नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाइ भइरहेको हो।
उक्त इजलास आज यिनै रिटमा केन्द्रित हुने भएको छ।
दिनभर प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ति र बर्खास्तगीको विवाद मात्र हेर्ने गरी उक्त इजलासले बाँकी सबै मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा पठाएको छ।
३० वटा मुद्दा पेसीमा रहेको इजलासले कुलमान काममा फर्किन पाउने कि नपाउने भन्नेमा मुख्य निष्कर्ष दिनुपर्नेछ।
कुलमान र हितेन्द्रदेवका रिट यसअघि आइतबार पेसी तोकिएका भए पनि सुनुवाइ भएको थिएन।
आइतबार रिट सुनुवाइका लागि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश सारंगा सुवेदीको संयुक्त इजलासमा परेका थिए।
हितेन्द्रदेव शाक्यका तर्फबाट वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी वकिल रहेको र उनी प्रधानन्यायाधीश राउतका ल फर्मका पूर्वसाझेदार भएको कारण त्यस दिन ‘हेर्न नमिल्ने’ मा परेको हो।
कुलमानले आफ्नो पदाधिकार छँदाछँदै सरकारले बदनियतपूर्वक हटाएको भन्दै थमौतीका लागि अन्तरिम आदेश माग गरेका छन्।
हितेन्द्रदेवले भने कुलमानको सुरु नियुक्ति नै गलत भएकाले उनको पदाधिकार हुन नसक्ने दाबी गरेका छन्। उनले चार वर्षअघि आफूले दायर गरेको रिटमा निर्णय नदिई हालको कुलमानको निवेदनमा सुनुवाइ गर्न नमिल्ने जिकिर पनि लिएका छन्।
यसअघि शुक्रबार न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले दुवै रिटका पक्ष र विपक्षलाई छलफलका लागि अदालत बोलाएको थियो। उक्त इजलासले दुवै रिटका विपक्षीहरूसँग लिखित जवाफ पनि मागेको थियो।
Shares

प्रतिक्रिया