समाज


राप्रपाको प्रदर्शनअघि सुरक्षा निकायको निष्कर्ष : भीडको भर हुन्न, जे पनि हुन सक्छ

राप्रपाको प्रदर्शनअघि सुरक्षा निकायको निष्कर्ष : भीडको भर हुन्न, जे पनि हुन सक्छ

उजिर कार्की
चैत २५, २०८१ सोमबार २१:२४, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को मंगलबार बल्खुमा हुने जुलुससहितको आमसभालाई लिएर तीन सुरक्षा संगठनले सुरक्षा योजनाबारे गम्भीर छलफल गरेका छन्। कार्यक्रमको अघिल्लो दिन नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख जुटेका हुन्। 

नेपाल प्रहरीका महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापाको समेत सहभागितामा सुरक्षा योजनाबारे छलफल हो। 

यस्तै, काठमाडौँ पुलिस क्लब भृकुटीमण्डपमा नेपाल प्रहरी उपत्यका प्रहरी प्रमुख एआईजी टेकबहादुर तामाङ र सशस्त्र प्रहरीको उपत्यका ९ नं पशुपतिनाथ बाहिनीका बाहिनीपति डीआईजी सुरेश श्रेष्ठसहितले छलफल गरेका छन्। उपत्यका प्रहरी प्रमुखहरूले राप्रपाको प्रदर्शनलाई लिएर सुरक्षा योजना बनाएका हुन्। 

यसअघि चैत १५ गते यही समूहले तीनकुनेमा दुर्गा प्रसाईंको नेतृत्वमा गरेको प्रदर्शन आकलनभन्दा बाहिर गएपछि भोलिको लागि सुरक्षा मजबुत कसरी बनाउने भन्ने विषयमा छलफल गरेको सहभागी एक अधिकारीले बताए। 

राप्रपाले काठमाडौँको बल्खुमा हुने जुलुससहितको प्रदर्शन शान्तिपूर्ण भनेको छ। तर यसअघि तीनकुनेमा पनि राजावादीहरूकै समूहले प्रशासनलाई शान्तिपूर्ण प्रदर्शन गर्ने भनेको थियो। तर कार्यक्रमको सुरुदेखि नै तोडफोड भएको थियो। सुरुमै पुगेका प्रदर्शनकारीहरूले निशेधित क्षेत्र तोडेर अगाडि बढ्न खोजेपछि माहोल बिग्रिएको थियो। 

उक्त प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो भने एक सयभन्दा बढी घाइते भएका थिए। अझै १३ जना अस्पतालमै रहेको प्रहरीले जानकारी दिएको छ। प्रहरीको गोली लागेर २० जना घाइते भएका थिए। आन्दोलनमा नआएका व्यक्तिमाथि प्रहरीले गोली चलाएको भन्दै आलोचना भएपछि दुई प्रहरी संगठनका उपत्यका प्रमुखले आन्दोलनमा कसरी शान्तिपूर्ण बनाउने र हिंसात्मक बने कसरी सही तरिकाले बल प्रयोग गर्ने भनेर आफ्ना फिल्ड कमान्डरहरूलाई निर्देशन दिएका छन्। 

पुलिस क्लबमा भएको छलफलमा दुवै प्रहरीका फिल्डमा खटिने अधिकृतहरू सहभागी छन्। यस्तै काठमाडौँ प्रहरी प्रमुख, उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख र उपत्यका ट्राफिक प्रहरी प्रमुख पनि छलफलमा सभागी भएका छन्। 

राप्रपाको कार्यक्रमलाई लक्षित गरेर आवश्यक सुरक्षा व्यवस्था मिलाइएको काठमाडौँ उपत्यका प्रहरी प्रमुख एआईजी टेकबहादुर तामाङले बताए। 

‘भन्न त उहाँहरूले आन्दोलन शान्तिपूर्ण नै हुन्छ भन्नु भएको छ। तर प्रहरीले आफ्नो हिसाबले जुनसुकै अवस्थाका लागि तयारी गर्नुपर्छ। भीडको भर हुन्न जे पनि हुन सक्छ,’ एआईजी तामाङले भने, ‘त्यही अनुसारले हामीले तयारी गरेका छौँ।’

सशस्त्र प्रहरी बल नेपाल नं ९ पशुपतिनाथ बाहिनीका प्रमुख डीआईजी  सुरेश  श्रेष्ठले पनि उपत्यकाभित्रको शान्ति सुरक्षाका अवस्थाबारे योजना प्रस्तुत गरेका थिए। 

एआईजी तामाङले विरोध तथा प्रदर्शनको समयमा भीड नियन्त्रणमा अग्रपंक्तिमा खटिने नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका प्रहरीलाई सामूहिक भावनाका साथ ऐक्यबद्ध भई खट्न निर्देशन दिएका छन्। 

बल प्रयोगको अवस्थामा अवलम्बन गर्नु पर्ने बल प्रयोगको सिद्धान्त र मानव अधिकारको सम्बन्धमा पनि फिल्डमा खटिने अधिकृतहरूलाई जानकारी गराइएको छ। 

राप्रपाले संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाका लागि दबाब दिने भन्दै सभा घोषणा गरेको हो। यसअघिको प्रदर्शनमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पक्राउ परेपछि अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा राप्रपाले प्रदर्शन गर्न लागेको हो। 

यसअघि राप्रपा दुर्गा प्रसाईंको नेतृत्वमा प्रदर्शनमा उत्रिएको थियो। ती प्रदर्शनकारीहरू प्रहरीको निसानामा परेपछि राप्रपाले मंगलबारको सभाका लागि बाहिरबाट समेत ठूलो संख्यामा कार्यकर्ता उतार्ने तयारी गरेको छ। 

राप्रपाले भृकुटीमण्डपमा प्रदर्शन गर्ने तयारी गरे पनि प्रशासनले त्यहाँ अनुमति दिएको थिएन। त्यसपछि राप्रपालाई सिफल वा बल्खु क्षेत्रमा कार्यक्रम गर्न भनिएको थियो। राप्रपाले बल्खुमा गर्ने जानकारी प्रशासनलाई दिएको छ।

एआईजी तामाङले उक्त प्रदर्शनलाई लिएर दुवै प्रहरी संगठनले आवश्यकता अनुसार पर्याप्त मात्रामा सुरक्षाकर्मी खटाउने बताए। ‘यति नै खटाउँछौँ भन्ने छैन। हामी आवश्यकतालाई हेरेर सुरक्षाकर्मी थपघट गरिहाल्छौँ, त्यसमा समस्या छैन,’ तामाङले नेपालखबरसँग भने। 

प्रहरीले राप्रपाको जुलुसदेखि कार्यक्रम स्थलसम्मको निगरानी ड्रोन र सीसी क्यामराबाट पनि गर्ने छ। यसअघिको प्रदर्शनमा हिंसात्मक गतिविधि गर्नेहरूलाई पनि प्रहरीले सीसीटीभी र सामाजिक सञ्जालमा आएका भिडिओहरूकै आधारमा पहिचान गर्दै नियन्त्रणमा लिइरहेको छ। 

चैत १५ गते राजावादीको प्रदर्शनमा कीर्तिपुरका सविन महर्जन र पत्रकार सुरेश रजकको मृत्यु भएको थियो। त्यसदिन प्रहरीले सुरुमै बल प्रयोग गरेर भीड भड्काएको र पछि बढी क्षति भएको भन्दै प्रहरीको आलोचना भइरहेको छ। यस्तै दुई प्रहरी संगठनको तालमेल नमिल्दा एउटा संगठनका कर्मचारीमाथि ढुंगामुढा भइरहँदा अर्को संगठन उद्धारमा समेत जान सकेको थिएन। 

ती विषयलाई पनि आगामी दिनमा समन्वय गरेर सुधार गर्न दुवै प्रहरीका अधिकृतहरूलाई निर्देशन दिइएको छ।

राप्रपाले मंगलबार बिहान साढे ११ बजेदेखि उपत्यकाका विभिन्न ठाउँहरूबाट जुलुस निकाल्ने र बल्खुमा पुगेर सभा गर्ने बताएको छ। सभालाई शान्तिपूर्ण बनाउन राप्रपाले पनि स्वयंसेवक परिचालन गर्ने जनाएको छ।

राजावादीको नेतृत्व गरेका जगमान गुरुङ र कमल थापा नेतृत्वको राप्रपा नेपालले पनि मंगलबारको कार्यक्रमलाई समर्थन गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad