ad ad

समाज


सिक्किममा घर फर्किने प्रवासी कामदारको ताँती, तर लकडाउनले बिचल्ली

सिक्किममा घर फर्किने प्रवासी कामदारको ताँती, तर लकडाउनले बिचल्ली

शैलेन्द्र समदर्शी
चैत १८, २०७६ मंगलबार ६:३२,

कोरोना भाइरस महामारीका कारण सिक्किमबाट घर फर्किन खोजेका प्रवासी कामदार उतै रोकिन बाध्य भएका छन्।

कोरोना संक्रमण नियन्त्रणका लागि भारत सरकारले गरेको २१ दिने लकडाउनका कारण उनीहरू आफ्नो घर फर्किन नपाएका हुन्।

यतिबेला सिक्किम प्रान्तीय राज्यका सीमा रम्फु र मल्लीमा घर फर्किन चाहने प्रवासी कामदारको ताँती लागेको छ।

तर लकडाउन अवधिभर जो जहाँ छ, त्यहीं बस्नु भन्ने सरकारी निर्देशनका कारण यी प्रवासी कामदार बिचल्लीमा परेका हुन्। 

यीमध्ये कतिपयको बासको व्यवस्थासमेत छैन। उनीहरू भारतकै विभिन्न स्थानमा घर भएका हुन्। 

यसैबीच उनीहरूको यस्तो समस्या देखेर भारतीय फुटबलका पूर्वकप्तान भाइचुङ भोटियाले सहयोग गर्ने वचन दिएका छन्।

उनले आफ्नो फुटबल क्लब– युनाइटेड सिक्किम फुटबल क्लबसँग मिलेर राजधानी गान्तोकको लुम्सेमा निर्मित नयाँ भवनमा उनीहरूको बासको प्रबन्ध मिलाइने जानकारी दिएका छन्।

‘यो २१ दिने लकडाउनमा सबैभन्दा धेरै दुःख प्रवासी कामदारले पाएका छन्। हिजो हाम्रो सिक्किमका सीमा मल्ली र रम्फुको चेकपोस्टमा धेरै प्रवासी कामदार लाइन लागेका थिए’, भाइचुङले भने, ‘केन्द्र र राज्यको सूचनाअनुसार अहिले कुनै प्रवासी कामदारले सीमा पार गर्न पाउँदैनन्। जुन राज्यमा छन्, त्यहीं बस्नु भनिएको छ।’

यसैले बस्ने ठाउँ नभएका प्रवासी कामदारलाई उनले आफू र युनाइटेड सिक्किम फुटबल क्लब (यूएसएफसी)का सिनियर म्यानेजर अर्जुन राईसँग सम्पर्क गर्न पनि भाइचुङले अनुरोध गरेका छन्।

यस विषयमा आफूले सरकारी अधिकारीसँग पनि सम्पर्क गरिरहेको उनले बताएका छन्। ‘प्रवासी कामदारको समस्या हामी सबै मिलेर समाधान गर्ने कोसिस गरौं,’ उनले भनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .