समाज


सिरिया मिसनबाट फर्केका कर्णेल खड्कासहित ६ जना सेनाको छानबिनमा

सिरिया मिसनबाट फर्केका कर्णेल खड्कासहित ६ जना सेनाको छानबिनमा

चैत २१ गते शान्ति मिसनबाट फर्किँदै प्रमुख सेनानी दिनेश खड्का नेतृत्वको टोली।


उजिर कार्की
बैशाख ४, २०८२ बिहिबार २१:२९, काठमाडौँ

सिरिया मिसनबाट फर्किएका नेपाली सेनाका प्रमुख सेनानीसहित ६ जना छानबिनमा तानिएका छन्। सिरिया मिसन पूरा गरेर फर्किएका प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) दिनेश खड्कासहित ६ जनालाई सैनिक प्रहरीको नियन्त्रणमै राखेर छानबिन अगाडि बढाएको सैनिक स्रोतले जनाएको छ।

सिरियामा नेपाली शान्ति सैनिक रहेको हदारस्थित १०–ए सुरक्षा पोस्टमा हतियारधारी समूह प्रवेश गरेर हतियार समेत लुटेर लगेको थियो। उक्त पोस्टका कमाण्डर कर्णेल खड्का थिए। सोही घटनालाई लिएर सेनाले उनीसहित पोस्टको सुरक्षामा खटिएकाहरूमाथि छानबिन अगाडि बढाएको हो। 

नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीले भने फर्किएको टोलीसँग त्यसबेला के भएको हो भनेर विस्तृतमा बुझ्ने काम भइरहेको बताए। विद्रोहीले हतियार समेत कब्जामा लिँदा ड्युटीमा नरहेकाहरूलाई भने सोधपुछ गरेर छाडिएको छ। 

‘सेनाले जुनसुकै घटना भइसकेपछि सुरुमा छानबिन समिति बनाउँछ। त्यसले बुझेर प्रतिवेदन दिन्छ। प्रतिवेदनका आधारमा थप कारबाही अगाडि बढाउन पर्ने भयो भने सैनिक अदालत गठन हुन्छ र सैनिक ऐन अनुसार कारबाही हुन्छ। देखिएन भने त्यो विषय त्यहीँ सकिन्छ,’ सहायक रथी केसीले बिहीबार नेपालखबरसँग भने। 

संयुक्त राष्ट्र संघ अन्तर्गत शान्ति स्थापनाका लागि नेपाली सेना ११ वटा मिसनमा खटिएको छ। बिहीबार प्राप्त विवरण अनुसार शान्ति मिसनमा ५ हजार ९ सयजना नेपाली सैनिकहरू मिसनमा खटिएका छन्।

उक्त घटना भएको सिरियामा हाल ४३९ जना कार्यरत रहेको पनि सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ। तर घटना हुँदा त्यहाँ रहेका सबै शान्ति सैनिकहरू स्वदेश फिर्ता भई अर्को टोली पुगिसकेको छ।

दिनेश खड्काको कमान्डमा रहेका १९७ जना चैत २१ गते स्वदेश फिर्ता भएका थिए। उक्त टोलीको ठाउँमा त्यसैदिन प्रमुख सेनानी रविजंग खड्काको नेतृत्वमा २०२ जना मिसन इलाकातर्फ प्रस्थान गरेका थिए। 

फोर्स हेडक्वार्टरको सपोर्ट युनिटका १३ औँ डफ्फा, इन्जिनियर तर्फका नवौँ डफ्फा, दुर्गाभञ्जन गुल्म आठौँ डफ्फा र लेबल एकमाथिको अस्पताल छैटौँ डफ्फाका २०२ जना त्यतिबेला सिरिया पुगेका थिए। सिरियाको उक्त मिसनमा नेपाली सेनाबाट सैनिक पर्यवेक्षक, स्टाफ अधिकृत र विभिन्न युनिटहरूको टोली छ। 

अहिले त्यहाँको सबै टोली फेरबदल भइसकेको छ। अन्तिम टोली बिहीबार नै त्यसतर्फ प्रस्थान गरेको पनि सेनाले जानकारी दिएको छ। बिहीबार प्रमुख सेनानी सुनिलकुमार मल्लको कमान्डमा २०३ जना कार्यकाल सम्पन्न गरी फिर्ता भएको र सेनानी लोकबहादुर बोगटीको कमान्डमा १९४ जना मिसन इलाकातर्फ प्रस्थान गरेका छन्।

शान्ति मिसनमा सेना खटिने भनेकै चुनौतीपूर्ण क्षेत्रमा भएकाले बेलाबेला यस्ता घटना हुनसक्ने पनि प्रवक्ता केसीले बताए। कतिपय मिसन इलाकामा विद्रोही पक्षका गतिविधि बढ्दा मिसनहरूमा चुनौती थपिँदै गएको छ।

‘शान्ति सेना खटिने क्षेत्रमा चुनौती सधैँ नै हुन्छ। धेरथोर भन्ने मात्रै हो, शान्ति सेना जहिले पनि खतराकै घेरामा हुन्छ। यस्ता घटनालाई हेरेर तालिम, बन्दोबस्ती जस्ता कुरा पनि सोही अनुसार बढाउनु पर्ने आवश्यकता देखियो,’ प्रवक्ता केसीले भने, ‘कुनै घटना हुँदैमा त्यसबाट विचलित हुने होइन त्यसको समीक्षा गर्दै पाठ सिकेर थप रणनीति बनाउने हो।’

नेपाली शान्ति सैनिक रहेको क्षेत्रमा हतियारधारी समूह पसेर केही हतियार र गोली लगेपछि संयुक्त राष्ट्र संघले पनि छानबिन गरेको थियो। विद्रोहीले लगेका सबै हतियार तथा गोलीहरू भने त्यसको केही समयमै नेपाली सेना र यूएनले समन्वय गरेर फिर्ता गरिसकेको पनि दाबी सेनाको छ।

तर आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन र उक्त घटनामा सेनाको तर्फबाट कुनै कमजोरी भएको छ कि भनेर निश्चित गर्न छानबिन गरिरहेको सेनाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad