समाज


मुस्ताङको कठिन दौडपछि ‘एक टुक्रा नेपाल’ बोकेर बेलायत फर्केकी लिआन

मुस्ताङको कठिन दौडपछि ‘एक टुक्रा नेपाल’ बोकेर बेलायत फर्केकी लिआन

प्रजय शुक्ल
बैशाख ११, २०८२ बिहिबार ८:३२, लन्डन

बेलायतकी लिआन इमेरी गार्नर भर्खरै नेपालको दुर्गम हिमाली भूभागमा सम्पन्न मुस्ताङ ट्रेल रेस २०२५ मा सहभागी भएर आफनो घर फर्किएकी छिन्। तर, उनी पदक र तस्बिर मात्रै लिएर फर्किनन्। उनले साथमा नेपालप्रतिको गहिरो प्रेम र आत्मीय अनुभूति पनि बोकेर ल्याएकी छन्।

२४ वर्षको उमेरमा पहिलोपटक नेपाल पाइला टेकेकी लिआन त्यसयता पटक–पटक नेपाल आउने गर्थिन्। तर उनको मुस्ताङ यात्राको चाहना भने तीन दशकदेखि मनमै थन्किएको थियो। 

अन्ततः त्यो अधुरो सपना पूरा भयो— साहस, प्रतिबद्धता र माया मिसिएको एक अविस्मरणीय यात्राको रूपमा।

हालैको एक दिन बेलायतको ब्राइटनस्थित उनको घरमा पुग्दा लिआनले नमस्ते भनेर मुस्कुराउँदै मलाई स्वागत गरिन्। घरबाहिर झुन्डिएका बौद्ध प्रार्थना झन्डाहरू र भित्ताभरि नेपालका हिमाल, गाउँ र अनुहार सजिएका तस्बिरहरूले उनी नेपालप्रति कति आत्मीय छिन् भन्ने प्रष्ट हुन्थ्यो। 

‘यो मुस्ताङ यात्रा मेरो ३० वर्षदेखिको सपना हो। आज म भन्न सक्छु—मैले त्यो सपना पूरा गरेँ,’ उनले उत्साहपूर्वक सुनाइन्।

मुस्ताङ ट्रेल रेस कुल १२ दिनको कार्यक्रममा थियो। जसमा ८ दिनको दौड, १ दिनको ट्रेकिङ, २ दिनको यात्रा र १ दिनको ब्रिफिङ समावेश थियो। उचाइ, मौसम र भौगोलिक कठोरताबीच ८ चरणमा १ सय ७० किलोमिटर लामो यात्रा सजिलो थिएन। 

तर लिआनका लागि यो केवल दौड थिएन, जीवनको अर्को अध्याय थियो।

कागबेनीबाट सुरु भएर हिमालको शिरमा बगिरहेको कालिगण्डकीको छेउछेउ हँदै मुक्तिनाथसम्म पुग्ने यो दौड साहस, संस्कार र सौन्दर्यको अनुपम मिश्रण हो। 

उनी भन्दै थिइन्, ‘यो दौड शारीरिक रूपमा चुनौतीपूर्ण छ, तर मलाई मुस्ताङको संस्कृतिको गहिरो अनुभूति गर्ने अवसर मिल्यो।’

रोचक कुरा के थियो भने रेसको अन्त्यमा प्रदान गरिएको मेडल सामान्य थिएन—यो ढुंगाबाट कुँदिएको विशेष मेडल थियो, जसले सुन्दर रूपमा मुस्ताङको संस्कृतिलाई झल्काउँथ्यो।

लिआनलाई ट्रेकिङ र दौड सधैँ मन पर्छ। उनी पहिले सगरमाथा आधार शिविरसम्म पुगिसकेकी थिइन्, तर मुस्ताङ भने उनको मनको विशेष कुनामा बसेको थियो। यसपटक उनको साथमा जीवनसाथी टम पनि थिए। कठिन उकाली–ओरालीमा टमले लिआनसँगै दौडेर साथ दिँदा यात्रा झनै अर्थपूर्ण बन्यो।

कफीको चुस्कीसँगै हाम्रो कुराकानी अघि बढदै थियो। उनले आफनो यात्राको अनुभव सुनाउन थालिन्, ‘हावाले उडाएका मरुभूमिको दृश्य, गहिरा खोँचहरू, हिमालका शृंखलाहरू, १५ करोड वर्ष पुराना जीवाष्म भएको नदीको किनार, प्राचीन तिब्बती गुम्बा र संस्कृतिहरू, सुन्दर मानिसहरू र एउटा यस्तो अनुभूति, जसलाई शब्दमा उतार्नै सकिन्न।’

उनी एकछिन मौन भइन् र फेरि भनिन्, ‘यो एक अद्वितीय र विशेष स्थान हो, यहाँको ट्रेल रनिङ गर्नु एक ठूलो सौभाग्य थियो।’ 

हिमाली मरुभूमिमा गरिएको यो ट्रेल रेस उनका लागि केवल दौड मात्र होइन, आत्मसंवाद थियो। 

भन्छिन्, ‘चिसो हावामा, सुक्खा भिरहरूमा, तिब्बती संस्कृति र पुराना गुफाबीच दौडनु मेरा लागि आध्यात्मिक यात्रा जस्तै थियो।’

यात्राका क्रममा उनलाई अत्यन्त भावुक बनाउने एउटा स्मृति थियो— एक कुकुर, जसले सम्पूर्ण दौडभरि उनलाई पछ्याइरह्यो।

आँखा रसाउँदै उनले भनिन्, ‘रेसको पहिलो दिनदेखि अन्तिम दिनसम्म त्यो कुकुर हरेक दिन मेरो साथमा रह्यो। अन्त्यमा म उसलाई छोडेर हिँड्नुपर्‍यो। त्यो मेरो लागि अत्यन्त पीडादायी क्षण थियो।’

आफ्ना यात्राको स्मरणमा ताजै रहेका ती सुन्दर पलहरू सुनाउँदै उनले भनिन्, ‘मुस्कानले भरिएको स्थानीयबासीको हार्दिकता, मौन पहाड, अनि कठिन तर सुन्दर यात्रा, सबै कुरा आत्मालाई छुने खालको थियो।’

यो यात्रालाई अझ विशेष बनाउने अर्को पक्ष थियो— उनको सामाजिक योगदान। उनले नेपाल ट्रस्ट नामक संस्थाका लागि यो रेसमार्फत करिब डेढ लाख नेपाली रूपैयाँ संकलन गरिन्, जुन नेपालका हिमाली बासिन्दाहरूको स्वास्थ्य सेवामा खर्च हुनेछ। 

‘नेपालले मलाई धेरै दिएको छ, मैले पनि केही गर्न सक्नुपर्छ,’ उनले भनिन्।

उनले मलाई आफ्ना साहसिक यात्राका तस्बिरहरू देखाउँदै गर्दा तिनले सिङ्गै मुस्ताङको कथा बोलेझैँ भयो। धुलाम्य बाटोमा दौडिरहेकी उनी, पृष्ठभूमिमा नीलगिरि, अन्नपूर्ण र धौलागिरी। अनि लोमन्थाङबासीसँगका ती तस्बिर— यी सबैले उनको यात्रालाई अविस्मरणीय बनाएको महसुस भयो मलाई। 

‘प्रत्येक पाइला चाल्दा म जीवित महसुस गर्थें,’ उनी भन्छिन्, ‘मौनता, पहाड, र त्यहाँको आत्मा—सबैले मसँग कुरा गरेजस्तो लाग्थ्यो।’

यो रेसमा ढुंगाको मेडल दिइएको थियो। जसले पनि मुस्ताङको संस्कृति झल्काउँथ्यो।

बिदा हुँदा उनले घरको झ्यालबाट टाढा समुद्रतिर हेर्दै बिस्तारै भनिन्, ‘म फेरि नेपाल आउनेछु। नेपालले मलाई सधैँ बोलाउँछ।’

नेपालको संस्कृति, पर्व, जनजीवन र ग्रामीण सौन्दर्य उनले आत्मसात गरेकी छिन्। 

‘नेपालमा म सधैँ स्वागत पाइरहेको अनुभव गर्छु,’ उनी भन्छिन्, ‘म जता गएँ, त्यहाँका मानिसहरूको मुस्कान, सहयोगी भावना र अतिथिप्रतिको आदर देखेर धेरै प्रभावित भएँ।’

‘नेपाल मेरो दोस्रो घर हो,’ उनले आत्मीयताका साथ भनिन्।

लिआनजस्ता यात्रुहरू वास्तवमै नेपाली पर्यटन, स्वास्थ्य र संस्कृतिको अदृश्य दूत हुन्। उनीहरू पैसा मात्र खर्च गर्न आउँदैनन्, भावना लिएर आउँछन्, यहाँको माया, संस्कृति, दुःख–सुख बुझ्छन्, र फर्किंदा पनि एक टुक्रा नेपाल बोकेर जान्छन्। 

यो एक विदेशी महिलाको नेपाली माटोसँगको प्रेम कथा हो। दौड सकियो, तर उनको नेपाल यात्रा अझै बाँकी छ। 

म उनको ह्रदयस्र्पर्शी अनुभव सुनेर बिदा भएँ। बाटोभरि उनकै बारे सोचिरहेँ। उनी अवश्य पनि फेरि नेपाल फर्किने छिन्। साँच्चिकै, जसले मुस्ताङ दौडेको छ मनदेखि, उसको यात्रा कहिल्यै समाप्त हुँदैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad