प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले समाजमा आशाको सञ्चार गराउने प्रमुख दायित्व मिडियाजगत्कै रहेको बताएका छन्।
राष्ट्रिय समाचार समिति (रासस)ले प्रकाशन गरेको फोटो पुस्तक बुझेपछि आइतबार उनले सृजनात्मक पत्रकारिताको बढावा हुन नसक्दा समाजमा नकारात्मक सोच छाएकाले त्यसलाई हटाउन सञ्चारकर्मीको विशेष भूमिका हुने बताए।
अध्यक्ष बस्नेतले लोकतान्त्रिक गणतन्त्र स्थापनापछि भएका उल्लेख्य उपलब्धिलाई तस्बिरमार्फत जनसमक्ष ल्याउन रासस फोटो किताब महत्वपूर्ण दस्तावेज भएको भन्दै प्रशंसा गरे।
त्यस क्रममा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले गणतन्त्र स्थापनापछि नेपालमा केही पनि भएन भन्ने गलत भाष्य चिर्न तथ्यसहित पुस्तक प्रकाशन गरिएको बताए।
‘वास्तवमा यो अवधिमा धेरै काम भएका छन् तर, मिडियाको माध्यमबाट ती कामबारे अझ धेरै प्रकाशन प्रसारण गर्न सकिएको छैन। नराम्रो र हुँदै नभएको कुरा खोतल्नु मात्र पत्रकारिता होइन’ , उनले भने।
राससले यसअघि हाम्रो संस्कृति, हाम्रो सम्पदा र समृद्धिका लागि पूर्वाधार शीर्षकहरूमा तस्बिर प्रदर्शनीसमेत गरिसकेको छ। तिनै तस्बिरको सङ्ग्रहका रूपमा ‘रासस फोटो किताबः गणतन्त्रको १६ वर्ष’ प्रकाशन गरिएको हो। रासस
Shares

प्रतिक्रिया