समाज


बाढीले डाइभर्सन बगाउँदा बीपी राजमार्ग ८ घण्टादेखि अवरुद्ध

बेपत्ता महिलाको खोजी जारी, १७ यात्रुको उद्धार
बाढीले डाइभर्सन बगाउँदा बीपी राजमार्ग ८ घण्टादेखि अवरुद्ध

नेपालखबर
बैशाख ३०, २०८२ मंगलबार ७:४१, काठमाडौँ

अविरल वर्षापछि काभ्रेको माप्तीस्थित रोशी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा बीपी राजमार्ग आठ घण्टादेखि अवरुद्ध छ। 

गए रातिदेखि नै अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । 

कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार बाढीले रोशी गाउँपालिका–१२ स्थित राजमार्गको मङ्गलटारतर्फको सडक बगाएको छ। गएराति यो सडकमा बाढीले थप क्षति पुर्याएपछि राजमार्ग खुलाउन नसकिएको उनले बताए।

प्रहरी टोली तथा स्थानीयको पहलमा आज बिहानैदेखि एकतर्फी भए पनि राजमार्ग खुलाउने प्रयास भइरहेको घलेले जानकारी दिए। 

गत वर्ष असोजको बाढीले राजमार्ग बगाउँदा उक्त स्थानमा अस्थायी रूपमा डाइभर्सन निर्माण गरिएको थियो। प्रहरीले उक्त राजमार्गमा अलपत्र १७ यात्रुको उद्धार गरेको छ।
 
यसैबीच, सोमबार दिउँसोको अविरल वर्षापछिको बाढीमा बेपत्ता एक महिलाको बिहानैदेखि खोजी सुरु गरिएको प्रहरीले जनाएको छ। 

सोमबार साँझ ६ः०० बजे पनौती नगरपालिका–५ स्थित सुब्बागाउँमा ढलमले खोलाले बगाउँदा सोही ठाउँ निवासी ३३ वर्षीया रेनुका गिरी बेपत्ता भएकी छन्। 

मेला गएर फर्कने क्रममा उक्त खोलामा आएको बाढीले उनलाई बगाएको हो। 

प्रहरीका अनुसार प्रहरी टोली र स्थानीयले निरन्तर खोजी गरे पनि सोमबार राति अबेरसम्म फेला नपरेपछि खोजीकार्य स्थगित गरिएको थियो।

आज बिहानदेखि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीसहितको टोली परिचालित गरी पुनः खोजीकार्य सुरु गरिएको प्रनाउ घलेले जानकारी दिए। 

सोामबारको वर्षाले पनौती बसपार्क आसपासका केही क्षेत्र डुबानमा परेको थियो। यस्तै आलु लगाइएको खेतमा खोलाको बाढी पस्दा क्षति पुगेको किसानहरुले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad