चितवनको भरतपुर महानगरपालिका–२५ शुक्रनगरका ४२ वर्षीय लिला गिरी मानसिक रुपमा बिरामी थिए। लामाे समयदेखि मानसिक रोगको औषधिसमेत सेवन गर्दै आएका उनले शुक्रबार बिहान आफ्नै सात वर्षकी छोरी र पाँच वर्षका भतिजको हत्या गरेका छन्।
शुक्रबार बिहान ९ः४५ बज्दै थियाे। सात वर्षीया प्रभा र पाँच वर्षीय सज्जन स्कुल जान हतारिँदै थिए। उनै लिलाले नै ती बालबालिकालाई सधैँ स्कुटरमा चढाएर स्कुल पुर्याउने काम गर्थे।
आज पनि प्रभा र सज्जनलाई उनै गिरीले स्कुल लैजान भन्दै स्कुटरमा चढाए। तर, दुर्भाग्य! उनको मनस्थिति एकै छिनमा बदलियो। उनले ती बालबालिकालाई लगत्तै स्कुटरबाट झारेर कोठामा थुने। त्यसपछि धारिलाे हतियारले हानेर हत्या गरेको प्रहरीले जनाएको छ।
गिरी लामो समयदेखि मानसिक रोगी थिए। पूर्व सैनिकसमेत रहेका उनको २०८१ वैशाखमा केही दिन अस्पतालमै राखेर मानसिक रोगको उपचारसमेत गरिएको थियो। विगत पाँच वर्षदेखि उनले नियमित मानसिक रोगको औषधि सेवन गर्दै आएका आफन्तले बताएका छन्।
उनकी श्रीमती बिमला आज बिहान घरमा थिइनन्। बिमला ११ वर्षका छोरा बिरामी भएपछि उपचारकाे लागि अस्पतालमा थिइन्। लिलाका दाजु दया गिरी र बिमला अस्पताल भर्ना भएका छोराको उपचारमा थिए। बिहीबार (हिजो) एक्कासी बिरामी भएर अस्पताल भर्ना गरिएको छोरालाई आज डिस्चार्ज गरेर घर फर्कने क्रममा थिए बिमला र दया।
यता, सोही वडामा रहेको मदरल्याण्ड बोर्डिङ स्कुलमा पढ्ने छोरी प्रभा र छोरो सज्जनलाई खाना खुवाउने, कपडा लगाइदिएर स्कुल पठाउन तयारी पार्ने जिम्मा लिलाकी भाउजु विष्णुकुमारीको थियो।
सँगै जोडिएको घरमा दुवै दिदीभाइलाई ठिकठाक बनाएर विष्णुमायाले लिलाको जिम्मा लगाइन्। लीलाले नै सधैँ ती बालबालिकालाई स्कुटरमा राखेर विद्यालयसम्म पुर्याउने गर्दै आएका थिए। दुई छोराछोरीलाई स्कुटरमा राखेपछि बिष्णुमाया घरभित्र छिरिन्।
घरको कामको चटाराेले विष्णुमाया छोराछोरीलाई लिलाको जिम्मा लगाएर हतारिँदै घर फर्किइन्। त्यसको केही मिनेटमै बच्चाहरु अत्तालिएर कराउँदै रोएको आवाज विष्णुमायाको कानमा पर्याे।
वरपर घर भएका छिमेकी पनि तुरुन्तै जम्मा भए। घरको मुल ढोकामा भित्रबाट चुक्कुल लगाएर लिलाले बच्चाहरूलाई कुटपिट गरे भन्ने भान छिमेकीलाई पर्याे।
बाहिरबाट हल्लाखल्ला गर्दा पनि लीलाले ढाेका खाेलेनन्। त्यसपछि ५/७ जनाले ढोका फुटाएर भित्र पस्दा सात वर्षकी प्रभा र पाँ वर्षका सज्जन अचेत अवस्थामा रगतमा छटपटिरहेको अवस्थामा फेला परे। छोराछोरीलाई खुर्पा प्रहार गर्ने लिलाले पनि आफ्नै टाउको र घाँटीमा खुर्पा प्रहार गरेछन्। उनी पनि गम्भीर अवस्थामा काेठाभित्रै फेला परे।
भरतपुर महानगरपालिका–२५ नम्बर वडाका वडाध्यक्ष छविलाल सापकोटाका अनुसार छिमेकी र विष्णुमाया कोठाभित्र पुग्दा दुई दिदीभाइ अचेत थिए भने लिला पनि छटपटाई रहेका थिए।
सधैँ घरमै बस्ने लिलाका बुवा शेरबहादुर गिरी आज टोलतिर निस्किएका थिए। नियमित मानसिक रोगको औषधि सेवन गर्दै आएका उनले औषधि नखाएको कारण यस्तो घटना घटेको हुनसक्ने वडाध्यक्ष सापकोटा बताउँछन्।
‘छोरो बिरामी भएर लीलाकी श्रीमती हिजोदेखि अस्पतालमै बस्नु भएको रहेछ,’ वडाध्यक्ष सापकोटाले भने, ‘त्यसो हुँदा नियमित लिनुपर्ने औषधि छुकेको कारण यस्तो घटना भएको हो की भन्ने हामीले अनुमान गरेका छाैँ।’
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (डीएसपी) रविन्द्र खनालका अनुसार हत्यामा संलग्न रहेका लिलाको सीएमसी अस्पतालमा उपचार भैरहेको छ। उनको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया