नेपाल मेडिकल काउन्सिलले अवैध रुपमा नामका अघि ‘डाक्टर’ उपाधि लेख्ने व्यक्तिहरूलाई कारबाही गर्ने जनाएको छ।
शुक्रबार काउन्सिलको निमित्त रजिस्ट्रार डा. दिपेन्द्र पाण्डेले प्रेस विज्ञप्ति जारी गरी अवैध रुपमा ‘डाक्टर’ लेख्ने व्यक्तिलाई कारबाही गरिने जनाएका छन्। यसअघि काउन्सिलले जेठ ७ गते सूचना जारी गरी गैरकानुनी रुपमा चिकित्सकको उपाधि नलेख्न आग्रह गरेको थियो।
यदि कसैले गैरकानुनी रुपमा नामको अगाडि डाक्टर लेखेर उपचार गरिरहेको भए सच्याउन सचेत गराएको थियो। काउन्सिलले दिएको १५ दिने समय जेठ २२ मा सकिएको छ।
अब त्यस्तो लेखेको पाइएमा कारबाही गर्ने काउन्सिलले जनाएको छ। ‘ऐन विपरीत अवैध रुपमा चिकित्सकको (डा.) उपाधि प्रयोग गरेको वा सो उपाधिको आडमा बिरामी जाँच्ने/परामर्श दिने जस्ता गतिविधिबारे जानकार जोकोही नागरिक, बिरामी, स्वास्थ्य संस्था, सञ्चार माध्यम तथा सरोकारवाला निकायलाई प्रमाण वा विवरणसहितको उजुरी दर्ता गर्न हार्दिक अनुरोध गरिन्छ।’
यसरी आएको उजुरीमाथि छानबिन गरी कारबाही गरिने काउन्सिलले जनाएको छ।

Shares

प्रतिक्रिया