कला


कान्स विजेतासँग ‘लेट्स टक’ : नेपालले स्टलमा पोस्टर समेत राखेन, स्वागतमा चाहिँ २ मन्त्री पुगे (भिडिओ)

‘११४ वटै सिन मेरो वास्तविक जीवनको भोगाइ हो’

अनिल यादव
जेठ २२ , काठमाडौँ

त्यो प्रख्यात कथाको दृष्टिविहीन पात्रले हात्ती छामेजस्तै हो– हाम्रो समाजले सीमान्तकृत समुदायलाई हेर्ने नजर। कसैले कान छाम्छ र भन्छ– यो त नाङ्लो हो। कसैले पुच्छर समात्छ र भन्छ– यो त डोरी हो। कसैले खुट्टा समात्छ र भन्छ– यो त खम्बा हो। तर, कसैले पनि हात्तीलाई पूर्ण रूपमा देख्न चाहँदैन। यही ‘अपूर्ण दृष्टि’ र ‘पूर्ण अस्तित्व’को बीचमा कोरिएको एउटा चित्र हो– ‘एलिफेन्ट्स इन द फग’ अर्थात् ‘तिनीहरू’। 

कान्स फिल्म फेस्टिभलको ७९ औँ संस्करणमा नेपाली फिल्मले एउटा यस्तो इतिहास रच्यो, जसको प्रतिध्वनि अझै पनि नेपाली कला क्षेत्रमा गुञ्जिरहेको छ। अन सर्टेन रिगार्डको फिचर फिल्म विधातर्फ पहिलोपटक ‘जुरी प्राइज’ जितेर फर्किएका निर्देशक अभिनाषविक्रम शाह र अभिनेत्री पुष्पा थिङ लामा यतिबेला चर्चाको केन्द्रमा छन्। उनीहरूका आँखामा कान्सको चमक मात्र छैन, किन्नर समुदायको आँसु र संघर्षका डोबहरू पनि छन्, जसलाई उनीहरूले सेल्युलोइडको पर्दामा उतारेका छन्। 

अभिनाषका लागि फिल्म निर्माणको यात्रा कुनै सपनाभन्दा कम थिएन। त्यसका लागि भोग्नुपरेको वास्तविकता निकै कष्टकर थियो। 

नेपालखबर सो ‘लेट्स टक’मा गफिन आइपुगेका अभिनाष भन्छन्, ‘प्रोडक्सनको समय यति धेरै चुनौतीपूर्ण हुन्थ्यो कि हामीलाई अवार्ड वा फेस्टिभलको बारेमा सोच्ने फुर्सद नै थिएन। तराईको त्यो कठ्यांग्रिदो जाडो, शीतलहर परेको बेला सिन कसरी सक्ने भन्नेमै हाम्रो ध्यान हुन्थ्यो।’

अभिनाषका अनुसार प्रि–प्रोडक्सनदेखि पोस्ट–प्रोडक्सनसम्मको यात्रा एउटा फिल्म बनाउनका लागि मात्र थिएन, एउटा सत्यलाई स्थापित गर्नु पनि थियो। 

‘त भोलि के गर्ने, प्राविधिकलाई के समस्या छ, कलाकारलाई के भइरहेको छ भन्ने सानोतिनो समस्या ट्याकल गर्नमै समय जान्थ्यो। कान्स जाने कुरा त छँदै थिएन। तर एउटा मनको कुनामा मात्र कतै सबमिट गरेँ भने कान्सबाट सुरु गर्छु भन्ने चाहिँ थियो,’ उनले भने। 

अभिनाषलाई धेरैले सोध्ने गर्छन्– कथा भन्नका लागि तपाईंले किन किन्नर अर्थात् ट्रान्सजेन्डर समुदायलाई नै रोज्नुभयो? यसको पछाडि एउटा गहिरो मानवीय संवेदना लुकेको छ। 

‘मलाई यो समुदायको ‘छनोट गरिएको परिवार’ को अवधारणाले निकै छोयो। आफ्नै जैविक परिवारबाट तिरस्कृत भएर बाहिर निस्किएका व्यक्तिहरूले कसरी नयाँ परिवार बनाउँछन्, आमा र छोरीको सम्बन्ध कसरी गाँस्छन्, यो कुरा निकै गहिरो लाग्यो,’ उनले भने। 

हात्तीको बिम्ब पनि त्यसै आएको होइन। अनुसन्धानको क्रममा एकजना आमाले उनलाई हात्ती र अन्धो मान्छेको कथा सुनाएकी थिइन्। 

‘हामीलाई हेर्ने दृष्टिकोण यति सीमित छ कि हात्तीलाई अन्धो मान्छेले हेरेजस्तै एउटा बक्समा मात्र सीमित गरिन्छ। हात्ती र यो समुदायमा एउटा ठूलो समानता छ– आफ्नोपनको खोजी र विस्थापनको संघर्ष। हात्तीहरू श्रीलंका, इन्डिया, नेपाल घुम्छन्, उनीहरूको एउटै बाटो हुन्छ, जुन उनीहरूले पुस्तौँदेखि सम्झिरहेका हुन्छन्। अहिले त्यहाँ बाटो बनेको छ, घर बनेको छ, तर हात्तीले आफ्नो बाटो छोड्दैन, जे आउँछ भत्काउँदै जान्छ। यो समुदायको संघर्ष पनि त्यस्तै छ,’ अभिनाष भावुक हुँदै सुनाउँछन्। 

यो फिल्मको आत्मा हुन्, पुष्पा लामा। सुरुमा फिल्म खेल्ने कुनै सोच नभएकी पुष्पाका लागि यो यात्रा अनपेक्षित थियो। 

उनी सम्झिन्छिन्, ‘म त नवलपरासीको एउटा अफिसमा काम गर्थेँ। फिल्मको टिम आउने भनेपछि हाम्रो समुदायका साथीहरू सबै भेला भएर कुरेर बसेका थियौँ। सुदामजी (कास्टिङ डिरेक्टर) एकदमै ढिलो आउनुभयो। त्यही दिन अर्को मिटिङ पनि छुट्यो। ढिलो आएपछि मैले उल्टै थर्काइदिएको थिएँ उहाँलाई। मलाई त सुरुमा एकदम रिस उठेको थियो, किन आए होलान् यी मान्छेहरू भन्ने भएको थियो।’

तर, जब उनले स्क्रिप्ट बुझिन्, उनलाई लाग्यो यो त मेरै कथा हो। 

फिल्ममा पिरतीको भूमिका निभाएकी पुष्पा भन्छिन्, ‘मैले ११४ वटा सिन गरेँ र ती ११४ वटै सिन मेरो वास्तविक जीवन थियो। फिल्मको सुटिङका क्रममा माटो छुने, झ्याल छुने कुराहरू गर्दा सुरुमा त मलाई लागेको थियो– यी अभिनाषहरू बौलाएका त होइनन्? तर पछि बुझ्दै जाँदा थाहा भयो, अभिनय गर्न हरेक चिजलाई महसुस गर्नु पर्दो रहेछ।’

सुटिङका क्रममा पुष्पा यति धेरै रोइन् कि उनलाई सम्झाउन युनिटलाई नै गाह्रो हुन्थ्यो। एउटा सिनको प्रसंग उनले सुनाइन्।

‘जब म फिल्ममा छोरीलाई खोज्दै जंगलमा जान्छु, त्यो बेलाको पीडा शब्दमा बयान गर्न सक्दिनँ। त्यहाँ म मात्र होइन, सेटमा भएका अरू कलाकार र क्रु मेम्बरहरू पनि रोइरहेका हुन्थे,’ पुष्पाले सम्झिइन्। 

अभिनाषले फिल्ममा व्यावसायिक कलाकारभन्दा पनि त्यही समुदायका गैर–कलाकारहरूलाई प्राथमिकता दिए। 

‘मलाई अथेन्टिसिटी चाहिएको थियो। म यो समुदायको होइन, मैले जतिसुकै राम्रो लेखे पनि उनीहरूको भोगाइलाई उनीहरूले जस्तो उतार्न सक्दिनथेँ। त्यसैले पुष्पा, ज्यास्मिन, दीपिका, एलिस, माया जस्ता साथीहरूलाई कास्ट गरेँ,’ अभिनाषले स्पष्ट पार्दै भने, ‘मैले उनीहरूलाई स्क्रिप्ट नै दिइनँ। हामी सिन रिहर्सल गथ्र्यौँ र उनीहरूले आफ्नै भाषामा संवाद बोल्थे। हाम्रा फिल्मका लेखकले कुनामा बसेर उनीहरूले बोलेका कुराहरू टिपोट गर्थे। यसरी फिल्ममा कुनै बनावटीपन आएन।’

कान्समा पुग्दाको अनुभव दुवैका लागि अविस्मरणीय रह्यो। फिल्म प्रिमियरपछि ८ मिनेटसम्मको ‘स्ट्यान्डिङ ओभेसन’ ले उनीहरूलाई स्तब्ध बनायो। 

‘जब हलको लाइट बल्यो र मान्छेहरूले ताली बजाउन थाले, मैले एकछिन आकाशतिर हेरेर आमा र भगवानलाई धन्यवाद दिएँ,’ पुष्पाले सम्झिइन्। 

तर, कान्समा एउटा यस्तो तितो यथार्थ पनि थियो, जसले धेरैको मन चसक्क पार्‍यो। कान्समा नेपाल सरकारको तर्फबाट चलचित्र विकास बोर्डको स्टल थियो, तर त्यहाँ ‘एलिफेन्ट्स इन द फग’ को पोस्टर थिएन। विडम्बना! ब्राजिलको स्टलमा भने यो फिल्मको ठूलो पोस्टर र डिजिटल बोर्डमा ट्रेलर बजिरहेको थियो।

अभिनाष यस विषयमा अलि संयमित हुँदै भन्छन्, ‘विकास बोर्डका अध्यक्षले पोस्टर त माग्नुभएको थियो, तर म ब्राजिलबाट साउन्ड डिजाइन सकेर फर्कंदा अलि ढिलो भयो। तैपनि हामीले यति धेरै मेहनत गरेर त्यहाँ पुग्दा राज्यको स्टलमा आफ्नो फिल्मको पोस्टर नदेख्दा थोरै नरमाइलो त लाग्दो रहेछ। तर, हामीलाई पब्लिसिटीको खाँचो थिएन, किनकि हामीले त अवार्ड नै जितिसकेका थियौँ।’

पुष्पा पनि थप्छिन्, ‘मेरो ध्यान पोस्टरतिर भन्दा पनि आफ्नो फिल्म र त्यहाँको उपस्थितिलाई कसरी फलदायी बनाउने भन्नेमै थियो। पछि थाहा पाउँदा थोरै अचम्म लाग्यो तर दुईजना मन्त्रीज्यूहरू एयरपोर्टमा स्वागत गर्न आउँदा भने निकै खुसी लाग्यो।’

अवार्ड जितेर नेपाल फर्किएपछि पुष्पालाई हेर्ने नजर फेरिएको छ। 

‘कान्स जानुअघि मलाई कसैले चिन्दैनथे, तर अहिले दिग्गज कलाकारहरूले पनि ‘एलिफेन्ट्स इन द फग’ भन्दै तारिफ गर्दा गर्व लाग्छ,’ उनले भने। 

यद्यपि समाजको सोच र राज्यको कानुनबीच अझै ठूलो खाडल छ। 

‘हाम्रो राज्य पेपरमा अलि प्रोग्रेसिभ छ, तर समाजमा अझै स्वीकार्यता छैन। हाम्रो फिल्मले यो दुईवटा खाडलको बीचमा एउटा सेतुको काम गर्नेछ भन्ने मेरो विश्वास छ,’ उनले भने। 

पुष्पाले आफ्नै समुदायका साथीहरूको पीडा सुनाउँदै भनिन्, ‘मैले आफ्नै साथीहरूको लास उठाएकी छु, जसलाई परिवारले छुनसमेत इन्कार गरेका थिए। पारिवारिक तिरस्कार नै हाम्रो समुदायको सबैभन्दा ठूलो दुःख हो। जबसम्म परिवारले आफ्ना सन्तानलाई जस्तो छ त्यस्तै स्वीकार गर्दैन, तबसम्म यो लडाइँ जारी रहन्छ।’

यो फिल्मको नेपाली नाम ‘तिनीहरू’ राखिएको छ। समाजले सधैँ ‘तिनीहरू’ भनेर टाढा राख्ने वर्गलाई ‘हामी’ को घेराभित्र ल्याउने प्रयास हो यो फिल्म। फिल्ममा एउटा गीत छ– ‘सादी के दिन मे बाजे ढोलकिया।’ यो गीत कुनै व्यावसायिक गीतकारले लेखेका होइनन्, पुष्पा र उनका साथीहरूले वर्कसपका क्रममा आफूले भोगेका, देखेका र सुनेका शब्दहरू उनेर बनाएका हुन्।

यो गीतले कान्सका फोटोग्राफरहरूलाई समेत नचाएको थियो। 

‘उनीहरूले गीतको अर्थ नबुझे पनि भावना बुझे र हामीसँगै ‘ला ला ला’ भन्दै नाचे,’ पुष्पा मुस्कुराउँदै भन्छिन्। 

निर्माण टिम यो फिल्मलाई आगामी सेप्टेम्बरमा नेपालका हलहरूमा प्रदर्शन गर्ने तयारीमा छ। 

‘म चाहन्छु, यो फिल्म धेरैभन्दा धेरै दर्शकले हेरुन्। यो फेस्टिभलका लागि मात्र बनाइएको फिल्म होइन, यो एउटा इन्गेजिङ ड्रामा हो,’ अभिनाषले भने। 

पुष्पाको एउटै सपना छ– आफ्नी आमालाई हलमा लगेर यो फिल्म देखाउने। 

‘मम्मीलाई रेड कार्पेट भनेको के हो थाहा छैन, तर उहाँलाई देखाउन मन छ कि तपाईंकी छोरीले मेहेनत गरेर केही गरेर देखाएकी छ,’ उनले भनिन्।

‘तिनीहरू’ एउटा पहिचानको लडाइँ हो। कुहिरोभित्र लुकेका हात्तीहरू जस्तै यो समुदायका मानिसहरू पनि आफ्नै अस्तित्वको खोजीमा छन्। अभिनाष र पुष्पाको यो प्रयासले समाजको त्यो कुहिरोलाई थोरै भए पनि चिर्ने काम गरेको छ।

कान्सको अवार्डले उनीहरूलाई विश्वसामु चिनायो तर उनीहरूको असली जित तब हुनेछ, जब नेपाली समाजले आफ्नै ‘तिनीहरू’ लाई ‘हामी’ भनेर अँगाल्नेछ। कुहिरो बिस्तारै फाट्दै छ, र आशा छ, अब उनीहरूले अपनत्व कतै टाढा जंगलमा होइन, हाम्रै समाजमा भेट्नेछन्।

फिल्म रिलिजको पर्खाइमा रहेका दर्शकका लागि पुष्पाको एउटा सन्देश छ– ‘यो फिल्मलाई मनोरञ्जनको रूपमा मात्र होइन, एउटा संवेदना र भावनाको कथाको रूपमा हेरिदिनुहोला। हामीले आफ्नो वास्तविक जीवन पस्केका छौँ, एकचोटि चाखिदिनुहोला।’

हेर्नुहोस्, विश्वचर्चित फिल्म फेस्टिभल कान्समा पुगेर पहिलोपटक फिचरतर्फ अवार्ड जितेको नेपाली फिल्म ‘तिनीहरू’का निर्देशक र कलाकारसँग गरिएको विस्तृत भिडिओ कुराकानी ‘लेट्स टक’:

फोटो/भिडिओ : सरोज नेपाल
 

जेठ २२, २०८३ शुक्रबार १९:५९

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad