समाज


स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबीच आँखा उपचार सेवा विस्तार गर्न सम्झौता

स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबीच आँखा उपचार सेवा विस्तार गर्न सम्झौता

नेपालखबर
जेठ २, २०८२ शुक्रबार १४:४१, काठमाडौँ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल नेत्रज्योति संघबीच उपचार सेवा नपुगेका ठाउँमा आँखा उपचार सेवा विस्तार गर्न सम्झौता भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितीमा मन्त्रालय र संघबीच गरिएको सम्झौताअनुसार अब संघले आँखा उपचार उपलब्ध नभएका स्थानमा लक्षित गरेर सहुलियतपूर्ण उपचार सेवा प्रदान गर्नेछ।

आँखा उपचार पहुँच वृद्धि गर्ने मन्त्रालयको नीतिअनुसार संघले संघ प्रदेश र स्थानीय सरकारबीच समन्वय गरेर कार्यक्रम विस्तार गर्नेछ भने यसका लागि मन्त्रालयले सहजीकरण गर्नेछ।

यसैगरी, आधारभूत स्वास्थ्य संस्थामा कार्यरत प्राथमिक आँखा उपचारमा सेवा प्रदान गरिरहेका जनशक्तिको क्षमता वृद्धिका लागि संघले सघाउने भएको छ। 

मन्त्रालयले संघका विदेशी आँखा चिकित्सकलाई उपचारमा सहभागी गराउन सहजीकरण गर्नेछ भने छात्रवृत्तिमा अध्ययन गरेका जनशक्तिर्ला संघीय तथा प्रादेशिक अस्पतालबाट खटाउन सघाउनेछ।

सम्झौतापछि आयोजित कार्यक्रममा स्वास्थ्य मन्त्री पौडेलले नेपालको आँखा उपचार सेवा स्तरीय र सुपथ भएको भन्दै नागरिकको पहुँच वृद्धिसँगै स्वास्थ्य उपचार पर्यटन केन्द्रका रुपमा विकास गर्न आँखा उपचार सेवाले भूमिका खेल्ने विश्वास गरे।

‘अहिले पनि भारतलगायतका ठाउँबाट आँखा उपचारका लागि ठूलो संख्यामा विदेशी आइरहेका छन्,’ उनले भने, ‘नागरिकको उपचार पहुच बढाउँदै नेपालमा स्वास्थ्य उपचार पर्यटन वृद्धि गर्ने योजनामा आँखा उपचार कार्यक्रमले मद्दत गर्ने आशा छ।’

मन्त्री पौडेलले त्यसका लागि सरकारले वातावरण तयार पार्ने प्रतिबद्धता जनाउँदै सम्झौता त्यसैको कडी भएको उल्लेख गरे।

संघका अध्यक्ष प्राडा चेतराज पन्तले सरकारको लक्ष्यअनुसार आँखा उपचार पहुँच बढाउन काम गर्ने भन्दै वातावरणका लागि मन्त्री पौडेलप्रति आभार प्रकट गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad