समाज


देशभर यातायात बन्द गर्ने व्यवसायीको घोषणा

देशभर यातायात बन्द गर्ने व्यवसायीको घोषणा

नेपालखबर
जेठ १३, २०८२ मंगलबार १८:२१, काठमाडौँ

काठमाडौं- यातायात व्यवसायीहरूले देशभरको यातायात सेवा पूर्ण रूपले बन्द गर्ने चेतावनी दिएका छन्। मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै  विभिन्न ८ वटा यातायात व्यवसायी संघसंगठनहरूले यही जेठ १९ गतेदेखि यातायात सेवा बन्द गर्ने चेतावनी दिएका हुन्। 

सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिको आयोजनामा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ, ढुवानी व्यवसायी महासंघ नेपाल र नेपाल यातायात मजदुर संगठनले देशव्यापी रूपमा अनिश्चितकालीन यातायात बन्द गर्ने घोषणा गरे। 

सरकारले वार्तामा बोलाएको र वार्ताबाट समाधान नआएमा आन्दोलनमै जाने सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिका संयोजक विजयकुमार स्वाँरले बताए। यातायात क्षेत्रमा देखिएका समस्या समाधान नभएको ठहर गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरिएको उनको भनाइ छ। संघर्ष समितिले ७ बुँदे माग अघि सार्दै आन्दोलनको घोषणा गरिसकेको छ। समितिका अनुसार जेठ १७ गते बागमती प्रदेश भेला गर्ने र १८ गते राति देखि टिकट बन्द गरेर १९ गते पूर्ण रूपमा यातायात सेवा बन्द गरिनेछ। 

यातायात व्यवसायीहरूले सवारी ऐन २०४९ को परिच्छेद २ को दफा ८ को २ र दफा १२ को १ विपरीत हुने गरी संघीय ऐनसँग बाझिने गरेर सातै प्रदेश सरकारले ल्याउने तयारी गरेको र गण्डकी प्रदेश सरकारले निजी सवारी साधन (रातो प्लेट) सञ्चालन गर्न ल्याएको नियमावली २०८२ दफा २ को तत्काल खारेज गर्नुपर्ने माग गरेका छन्। 

यसैगरी सर्वोच्च अदालतबाट संघ संस्था दर्ता ऐन २०३४ मा रहेको संघ समिति नवीकरण सम्पत्ति फुकुवाको परमादेश तत्काल कार्यान्वयन गर्नुपर्ने, सवारी ऐन २०४९ संशोधनको क्रममा रहेकाले यातायात व्यवसायीसँग विगतमा भएको सम्झौता सहमति र नेपाल सरकारबाट गठित कार्यदलका सुझाव प्रतिवेदन यथाशीघ्र कार्यान्वयनमा ल्याउनुपर्ने उनीहरूको माग छ। 

यसैगरी, सार्वजनिक यातायात क्षेत्रमा योगदानमा आधारित सामाजिक सुरक्षा कोष अनिवार्य लागू गर्नुपर्ने, मालवाहक सवारीको भार बहन नियमन सम्बन्धी निर्देशिका २०७४ को दफा १३ अनुसार स्वदेशी तथा विदेशी सवारी साधनको भार बहन क्षमता कडाइका साथ लागू गर्नुपर्ने, बीमा दर निर्देशिका २०७३ लाई समयानुकूल संशोधन गरी दुर्घटना क्षतिपूर्ति तथा उद्धार राहतका लागि दुर्घटना राहत कोष स्थापना गरी यातायात क्षेत्रलाई व्यवस्थित गर्नुपर्ने र छिमेकी मुलुकबाट नेपाल प्रवेश गर्दा मालवाहक तथा यात्रुवाहक सवारी साधनले नेपालमा भन्सार नाकामै ७२ घण्टे सुविधा पाउने असमान नीति तत्काल संशोधन गर्नुपर्ने व्यवसायीहरूको माग छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad