समाज


पूर्वाधार विकासले सुगम बन्दै सोनारी क्षेत्र

पूर्वाधार विकासले सुगम बन्दै सोनारी क्षेत्र

नेपालखबर
जेठ १६, २०८२ शुक्रबार १३:६, बाँके

हुलाकी सडक र राप्ती नदीमा पुल निर्माण भएपछि बाँकेको राप्ती सोनारी गाउँपालिकाको सोनारीक्षेत्र सुगम बन्दै गएको छ ।  

कचनापुर र बिनौनालाई जोड्ने राप्ती पुल सँगसँगै हुलाकी सडक निर्माण भएपछि विगतमा दुर्गम क्षेत्रको रूपमा रहेको राप्ती नदी पारी अवस्थित बैजापुर, बिनौना र फत्तेपुर अहिले सुगम बनेका हुन् । राप्ती सोनारी गाउँपालिकाको व्यावसायिक चहलपहल बढ्दै गएको राप्ती सोनारी गाउँपालिका–३ का वडाध्यक्ष मीनकुमार चौधरीले बताए।

'हुलाकी सडक र पुल बनेपछि सोनारी क्षेत्रका जनताले विकासको अनुभूति गर्न पाएका छन्, व्यावसायिक कारोबार पनि बढ्दै गएको छ', उनले भने, 'हुलाकी सडक बनेपछि मानिसको आवागमन र चहलपहल बढ्दै गएको छ, अहिले घरेलु तथा साना उद्योग तथा व्यवसाय पनि फस्टाउँदै गएका छन्।'

सडक र पुल बनेपछि राप्तीपारी अवस्थित बिनौना, बैजापुरमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्र घुम्न आउने आन्तरिक पर्यटकको चहलपहल बढेको छ । बैजापुरमा रहेको प्रसिद्ध भुवरभवानी मन्दिर, बाबा बर्फानी र बिनौनामा रहेको धुमैया उद्यान र नवनिर्मित राप्ती पुलमा घुम्ने सर्वसाधारणको संख्या बढ्दो छ। 

हुलाकी सडक र राप्ती नदीमा माथि बनेको पुललगायतका पूर्वाधार विकासले सोनारी क्षेत्रका जनताको आर्थिक तथा समग्र सामाजिक जीवनस्तरमा सकारात्मक प्रभाव पारेको राप्ती सोनारी–५, बिनौनास्थित भुवरभवानी माध्यमिक विद्यालयका प्राचार्य चेतबहादुर विष्टले बताए।

नेपालगञ्ज–बघौडा हुलाकी सडक सँगसँगै राप्ती सोनारीको वडा नम्बर ६ कुण्डादेखि नारायणपुर हुँदै अगैयास्थित पूर्व–पश्चिम राजमार्ग जोड्ने हुलाकी सडकखण्ड विस्तार भएपछि अहिले साना ठूला सवारीसाधन आवागमन पनि बढ्दै गएको छ। नेपालगञ्जबाट कोहलपुर हुँदै अगैया पुग्ने मुख्य राजमार्ग भन्दा यो हुलाकी सडक छोटो पर्ने भएकाले सवारीसाधनको आवागमन बढ्दो रहेको विष्टले बताए। 

कचनापुर र बिनौनालाई जोड्ने राप्ती पुल निर्माण भएपछि गाउँपालिकाको नदी वारि र पारिको सिधा सम्पर्क बनेको राप्ती सोनारी–५ का जमानसिंह वलीले बताए। 

सडक र पुललगायतका पूर्वाधार विकाससँगै राप्ती सोनारीमा व्यवसायी चहलपहल आएको उल्लेख गर्दै उनले कृषिको माध्यमबाट जनताको आर्थिक जीवनस्तर उकास्नतर्फ अब स्थानीय सरकारले योजना ल्याउनुपर्ने बताए।  रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad