नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक डाकेको छ। आज शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै गरिएको संसद् बैठक अवरोधबारे थप निर्णय गर्न दलको बैठक बोलाउने निर्णय गरेको हो।
बैठक जेठ १९ गते मध्याह्न १२ बजे बोलाउने निर्णय भएको सचिव देवेन्द्र पौडेलले जानकारी दिए। जेठ १३ गतेदेखि विपक्षी दलहरूसँग मिलेर लगातार संसद् अवरोध गर्दै आएको माओवादीले बिहीबार सरकारले ल्याएको आगामी वर्षको बजेट पेस गर्न भने दिएको थियो।
'सदनमा प्रतिपक्षको भूमिकालाई थप प्रभावकारी बनाउन विज्ञसहितको संसदीय दलको बैठक बोलाएको छ,' पौडेलले भने, 'संसद्को अवरोधलाई जारी राख्ने कि वैकल्पिक उपाय खोज्ने भन्ने विषयमा विज्ञहरूको राय लिनेछौँ।'
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको नाम मुछिएपछि प्रतिपक्षीले उनको राजीनामा मागेर अनुसन्धानमा सहयोग गर्नुपर्ने बताउँदै आएका छन्।
Shares

प्रतिक्रिया