समाज


शुक्लाफाँटा नगरपालिकाद्वारा ६४ जना दीर्घरोगीलाई मासिक रूपमा उपचार खर्च

शुक्लाफाँटा नगरपालिकाद्वारा ६४ जना दीर्घरोगीलाई मासिक रूपमा उपचार खर्च

नेपालखबर
जेठ १६, २०८२ शुक्रबार १४:५९, कञ्चनपुर

शुक्लाफाँटा नगरपालिकाले चालु आर्थिक वर्षमा ६४ जना दीर्घरोगीलाई उपचार खर्च उपलब्ध गराएको छ।

मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर, मेरुदण्ड पक्षघात भएका बिरामीलाई मासिक रूपमा रु पाँच हजारका दरले उपचार खर्च उपलब्ध गराइएको नगर स्वास्थ्य शाखा प्रमुख परमानन्द भट्टले जानकारी दिए। उनका अनुसार क्यान्सर भएका ३९, डायलाइसिस गराइरहेका २१, मेरुदण्ड पक्षघात भएका तीन र मिर्गौला प्रत्यारोपण गराई रहेका एकजना गरी ६४ जनालाई उपचार खर्च उपलब्ध गराइएको हो।

दीर्घरोग भएका बिरामीको लामो समयसम्म औषधि उपचार गर्नुपर्ने र खर्चिलो हुने हुँदा आर्थिक भार कम गर्न शून्य मौज्दातमा बैङ्कमा खाता खोलेर त्यसैमार्फत मासिक रूपमा उपचार खर्च उपलब्ध गराइँदै आएको शाखा प्रमुख भट्टले बताए। त्रैमासिक रूपमा महिनाको अन्तिम दिन उपचार खर्च रकम बैङ्क खातामा जम्मा गर्ने व्यवस्था गरिएको उनले जानकारी दिए। 

नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएको संस्थाबाट निवृत्तिभरण, पेन्सन प्राप्त गरिरहेका व्यक्तिलाई भने उपचार खर्च दिने गरिएको छैन। कार्यविधिअनुसार औषधि उपचार खर्च पाउनका लागि राष्ट्रिय परिचयपत्र नम्बर वा नागरिकताको प्रतिलिपि, नाबालकको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि, अनुसूची १ बमोजिमको ढाँचामा चिकित्सकको सिफारिस, अपाङ्गतासम्बन्धी रातो वा नीलो कार्डको प्रतिलिपिसहित वडा कार्यालयमा अनुसूची २ बमोजिमको ढाँचामा निवेदन दिनुपर्ने हुन्छ। वडाको सिफारिसअनुसार दीर्घरोगीलाई उपचार खर्च उपलब्ध गराउने गरिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad