नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार कृष्णलाल गोजा श्रेष्ठको निधन भएको छ।
भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-४ तछुतोस्थित आफ्नै निवासमा ७२ वर्षको उमेरमा आज बिहान आकस्मिक रूपमा उनकाे निधन भएको माओवादीका केन्द्रीय सचिव लीलामणि पोख्रेलले जानकारी दिए।
‘उहाँ निकै निष्ठावान नेता हो,’ पोख्रेलले भने, ‘अहिले भक्तपुरको पश्चिम बाराही घाटमा उहाँको अन्तिम संस्कार चलिरहेको छ। म यहीँ घाटमै छु।’ श्रेष्ठले लामो सयमयसम्म भक्तपुरमा तत्कालीन जनमोर्चाको अध्यक्ष भएर काम गरेका थिए।
०२८ सालदेखि नेकपाको सदस्यता लिएका गोजाले भक्तपुरमा लामो सयमदेखि सामाजिक कामहरूकोसमेत अगुवाइ गर्दै आएका थिए।
उनको पार्थिव शरीरमा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र पार्टी महासचिव देव गरुङले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गरेका छन्।
कार्यक्रममा केन्द्रीय सदस्य शशी श्रेष्ठ, नेताहरू दिलीपकुमार श्रेष्ठ, प्रतिमा श्रेष्ठ, डिपी ढकाल, देवेन्द्र श्रेष्ठ, रामप्रसाद सापकोटा (दीपशिखा) लगायतको उपस्थिति थियो।
२०१८ सालदेखि बामपन्थी राजनीतिमा क्रियाशिल रहेका कृष्णलाल एकता केन्द्र र जनमोर्चा हुँदै नेकपा माओवादी केन्द्रको राजनीतिमा सक्रिय थिए ।
श्रेष्ठको निधनले भक्तपुरकाे कम्युनिस्ट आन्दोलनलाई अपूरणीय क्षती पुगेको माओवादी केन्द्रका जिल्ला इन्चार्ज दिलिप प्रजापतिले बताएका छन्। उनका दुई छाेरा र दुई छाेरी छन्।
Shares

प्रतिक्रिया