नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले जिल्ला अदालत काठमाडौँले नेपालखबर डटकम र बिजमान्डु डटकममा प्रकाशित समाचार हटाउनू भन्ने व्यहोराको अल्पकालीन अन्तरिम आदेश जारी गरेको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
‘सञ्चारमाध्यममा प्रकाशित/प्रसारित समाचारका विषयमा चित्त नबुझेको अवस्थामा सम्बन्धित पक्षले उजुरी दिने र त्यसविरुद्ध कारबाही गर्ने प्रेस काउन्सिल नेपालको क्षेत्राधिकारको विषय हो,’ नाफिजले सोमबार विज्ञप्ति जारी गरी भनेको छ, ‘तर, काउन्सिलको क्षेत्राधिकारको विषयलाई उक्त निकायमा प्रवेश नै नगराई विषयलाई सिधै अदालतमा प्रवेश गराएर सञ्चार माध्यमको कुरासमेत नसुनेर एकपक्षीय रुपमा समाचार हटाउन अदालतबाट भएको यो आदेश संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताविपरीत तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मूल्य मान्यता विपरीत रहेको नाफिजको बुझाइ छ।’
नेपालको संविधान २०७२ को प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रता स्पष्ट रुपमा उल्लेख रहेको भन्दै ‘संविधानको धारा १७, १९ र २७ मा मौलिक हकका रुपमा अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता र जनताको सूचनाको हक सुनिश्चित गरिएको’ नाफिजले अवगत गराएको छ।
‘लोकतन्त्रमा न्यायालयको निर्णय पालना हुनुपर्छ भन्ने कुरामा नाफिज सधैं दृढ छ र अदालतको सम्मान समेत गर्दछ’ महासचिव निकेश खत्रीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘तर, अदालतको यो आदेश नेपालको संविधानले अंगिकार गरेको पूर्ण प्रेस स्वतन्त्रता तथा प्रचलित मूल्य मान्यता र अभ्यास विपरीत भएकाले सम्मानित अदालतलाई उक्त आदेशमा पुनर्विचार गर्न पनि नाफिज अनुरोध गर्दछ।’
Shares

प्रतिक्रिया