सिराहामा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। दुई मोटरसाइकल आपसमा ठोकिँदा एक वृद्धाको मृत्यु भएको हो भने ट्याक्टरले ठक्कर दिँदा तीन वर्षीया बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ।
भगवनापुर गाउँपालिका-१ बलान पुलमा ना.३४ प ४२४१ नम्बरको मोटरसाइकल र स.८ प ७०१८ नम्बरको मोटरसाइकल आपसमा ठोकिँदा ना.३४ प ४२४१ नम्बरको मोटरसाइकलमा सवार महिलाको मृत्यु भएको हो।
मृत्यु हुनेमा सिराहाकै सखुवानान्कारकट्टी गाउँपालिका-५ महेशबारी बस्ने ७८ वर्षीया कलवतीया देवी यादव रहेकी प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका ना.३४ प ४२४१ नम्बरको मोटरसाइकलमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनापछि प्रहरीले स.८ प ७०१८ नम्बरको मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ ।
यसैगरी सिराहाको लहान नगरपालिका-३ बिहारपुरमा स.१ त ४०९९ नम्बरको ट्याक्टरले ठक्कर दिँदा स्थानीय संजय सदायकी छोरी ३ वर्षीया सुजीता सदायको मृत्यु भएको छ।
ट्याक्टर ब्याक गर्ने क्रममा किचेर गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
Shares

प्रतिक्रिया