बागमती प्रदेशको राजधानी हेटौँडामा बागमती प्रदेशस्तरीय प्रहरी अस्पताल भवनको शिलान्यास गरिएको छ।
हेटौँडा उपमहानगरपालिका– १७ स्थित हटियामा मंगलबार बिहान प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले अस्पतालको शिलान्यास गरेका हुन्।
कुल लागत ८ करोड ३ लाख ७१ हजार रुपैयाँ रहने अस्पतालको निर्माण कार्य आगामी २०८३ पुस १८ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
बागमती प्रदेश प्रहरी कार्यालयमार्फत कार्यान्वयन हुने सो अस्पताल निर्माण योजना अनुसार पहिलो चरणमा १५ शैयाको अस्पताल बनाउने तयारी छ।
पहिलो चरणमा बहिरंग विभाग, कर्मचारी आवास, अस्पताल परिसरको घेराबार, डिपबोरिङ, पार्किङलगायत संरचना निर्माण गरिनेछ।
अस्पताल निर्माण सम्पन्न भएपछि अन्तरंग र बहिरंग सेवा दुवै सञ्चालन गरिने प्रदेश अस्पतालका चिकित्सक प्रहरी नायब उपरीक्षक डा.प्रयास बिडारीले जानकारी दिए।
हाल बागमती प्रदेश प्रहरी अस्पतालले हेटौँडा– १५ स्थित रातोमाटे गणबाट प्रहरी कर्मचारीलाई सीमित स्वास्थ्य सेवा दिँदै आएको छ। नयाँ अस्पताल सञ्चालनमा आएपछि प्रहरी कर्मचारीसँगै स्थानीय समुदायले पनि स्वास्थ्य सेवा सहज रूपमा प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ।
प्रहरी अस्पताल भवनको शिलान्यास गर्दै आन्त्रिक मामिलामन्त्री लामिछानेले अस्पताल निर्माणपछि प्रहरी कर्मचारीसँगै स्थानीय बासिन्दा समेत लाभान्वित हुने बताए।
प्रदेशको सुरक्षाको विषयमा सरकार गम्भीर रहेकाले नागरिक तथा प्रहरीलाई लक्षित गरेर अस्पताल निर्माण थालिएको मन्त्री लामिछानेको भनाइ छ।
Shares

प्रतिक्रिया