पतञ्जलि योगपीठका नेपाल प्रमुख शालिग्राम सिंहसँग ३५ लाख रूपैयाँ धरौटी माग भएको छ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले आइतबार शालिग्रामलाई ३५ लाख रूपैयाँ धरौटीमा छाड्ने आदेश गरेको हो।
यसै प्रकरणका अर्का अभियुक्त पूर्वमन्त्री प्रेमबहादुर सिंहसँग भने अदालतले ५० हजार रूपैयाँ धरौटी माग गरेको छ।
सोही इजलासमा आइतबार नै उनीहरू दुवै जनासँग बयान लिइएको थियो। त्यसपछि थुनछेक बहस भएको थियो।
माधवकुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद्अन्तर्गत विधेयक समितिले २०६६ माघ १८ गते पतञ्जलि योगपीठलाई हदबन्दीभन्दा बढीको जग्गा राख्न छुट दिने निर्णय गरेको थियो। नेपाल नेतृत्वको सरकारले नै तत्कालै उक्त जग्गा फरक प्रयोजनमा बेच्न स्वीकृति दिएको थियो।
हदबन्दी छुट दिँदा र त्यस्तो छुट पाएको जग्गा बेच्ने अनुमति दिँदा पनि भ्रष्टाचार गरेको दाबी गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरूद्ध गत जेठ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
यसअघि पूर्वप्रधानमन्त्री नेपाल यसै प्रकरणमा ३५ धरौटीमै छुटेका थिए।
Shares

प्रतिक्रिया