राजनीति


नक्कली भुटानी शरणार्थी प्रकरण: ३ जनाको बकपत्र सकियो

नक्कली भुटानी शरणार्थी प्रकरण: ३ जनाको बकपत्र सकियो

नेपालखबर
साउन १८, २०८२ आइतबार १८:५७, काठमाडौँ

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको प्रकरणको मुद्दामा साक्षीसँग बकपत्र भएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश डा. दिवाकर भट्टको इजलासमा साक्षीको बकपत्रका भएको हो। 

आज आइतबार सन्तोष भट्टराई, रोशन सिवाकोटी, समीर सिवाकोटीको बकपत्र सकिएको छ। अब सोमबार निवेदन दिएकामध्ये शोवराज राना क्षेत्री, डम्मर खत्री र सन्दीप ओलीको बकपत्र हुने अदालत प्रशासनले जनाएको छ। 

साक्षीसँग बकपत्रपछि मुद्दाको अन्तिम सुनुवाइका लागि लैजाने तयारी छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले ठगी, किर्ते, संगठित अपराध र राज्यविरुद्धको अपराधको कसुरमा ३० जनाविरुद्ध १० जेठ २०८० मा मुद्दा दायर गरेको थियो। 

यो मुद्दामा थुनछेक आदेश भएयता ३२ पटक पेसी चढेकामा गत १ वैशाखयता मात्रै २२ पटक पेसी तोकिएको छ। त्यसअघि २०८१ मा ७ र २०८० मा ४ पटक पेसी तोकिएको थियो। गृहमन्त्री र गृह सचिवस्तरमा निर्णय गरेर बिचौलियासँगको ‘सेटिङ’ मिलाई नक्कली शरणार्थी सूची बनाएको पोल खुलेपछि प्रहरीले १२ चैत २०७९ मा केशव दुलालसहित केहीलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो। 

गजेन्द्र बुढाथोकीको जाहेरीमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाण, पूर्वगृह सचिव टेकनारायण पाण्डे, संविधानसभा सदस्य तथा कांग्रेस नेता आङटावा शेर्पा, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, सन्दीप रायमाझी,टंक कुमार गुरुङ, मोहन राज राई,निरनन्जन कुमार खरेल, केशव तुलाधर,हरि भक्त महर्जन,राजेश अर्याल,बिनिता सावदेन लिम्बु, सागर राई,आशिष बुढाथोकी, केशव प्रसाद दुलाल, सुनिल बुढाथोकी, दिपा हुमागाञी,शमशेर मियाँ, राम शरण के.सी., लक्ष्मी महर्जन, निरज राई, सानु भण्डारी, नरेन्द्र के.सी., सन्देश शर्मा, अशोक पोखरेल, गोविन्द कुमार चौधरी, धिरेन राई, प्रतिक थापा, टेकनाथ रिजाल विरुद्ध मुद्दा दायर गरिएको छ।

९ वैशाख २०८१ मा दावा शेर्पाले दिएको जाहेरीबमोजिम सुजाता कोइराला परराष्ट्रमन्त्री हुँदाका स्वकीय सचिव केशव दुलालसहित ५ जनाविरुद्ध पूरक मुद्दा दायर गरिएको थियो। त्यस्तै बेचन झालाई भारतबाट पक्राउ गरी ल्याएर २९ साउन २०८१ मा अर्को मुद्दा लगिएको थियो। अदालतले पछिल्ला दुई वटै मुद्दालाई मूल मुद्दासँगै राखेर सुनुवाइ अघि बढाइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad