नारायणगढ-मुग्लिन सडक खण्डका अधिकांश भाग भित्तो खनेर बनाइएको र विस्तार गरिएको छ।
जसको कारण यो सडकमा सधैँ पहिरो र ढुङ्गा खस्ने जोखिम छ। समयसमयमा पहिरो र ढुङ्गा खसेर भएका मानवीय क्षति धेरै छन्।
पछिल्ला वर्षहरूमा सडक विस्तार, पुल निर्माण र पहिरो रोकथामको काम भएसँगै पहिलेको तुलनामा जोखिम कम भए पनि ढुङ्गा खस्ने समस्या भने हटेको छैन।
डिभिजन सडक कार्यालय भरतपुरका इञ्जिनियर अर्जुन घिमिरेका अनुसार सबैभन्दा बढी समस्या देखिएको तुइन खोलामा ठूलो ढुङ्गा झारिएको छ। त्यहाँ अन्य साना ढुङ्गा पनि झारिए पनि अझै सो क्षेत्र जोखिमपूर्ण रहेको उनले बताए।
‘यो ठाउँमा रकनेटिङ गर्नका लागि छलफल भइरहेको छ’, उनले भने, ‘झण्डै १६ मिटर माथिबाट अत्यन्तै जोखिममा रहेको ठूलो ढुङ्गालाई लङबुम एक्साभेटरको सहयोगमा झारियो। सोही सडकको लामो बालुवा पुल आसपास क्षेत्रमा ढुङ्गा खस्ने जोखिम अझै छ।’
सोही क्षेत्रमा ढुङ्गा खसेर केही समयअघि एक जना चालकको मृत्यु भएको थियो। घिमिरेका अनुसार सडकको सात सय मिटर जति क्षेत्रमा जोखिम बढी छ। सो क्षेत्रको केही भित्तो काटिएको थियो।
यस्तै जोखिम जलवीरेमा छ। यहाँ झण्डै एक सय मिटर क्षेत्रमा साना ढुङ्गा खस्ने जोखिम छ। नाम्सी पुल क्षेत्रमा पनि भित्तो काटिएको हुँदा ढुङ्गा खस्ने जोखिम छ। यहाँ एक सय मिटर जति क्षेत्र जोखिममा रहेको घिमिरेले जानकारी दिए।
तुइन खोला नजिकैको क्षेत्र पनि जोखिममा छ। साठ्ठी मिटर हाराहारी क्षेत्रमा ढुङ्गा खस्ने जोखिम छ । सो क्षेत्रमा सडक विस्तार गर्दा हल्का भित्तो काटिएको थियो। केही वर्षअघि यो सडक विस्तार गर्दा ठाउँठाउँमा भित्तो काटिएको थियो।
ती क्षेत्रमा रकनेटिङ, वायो इञ्जिनियरिङलगायत प्रविधि प्रयोग गरेर पहिरो र ढुङ्गा खस्ने समस्या रोकथाम गरिएको ह । घिमिरेले भने, ‘पहिले रोकथामको काम गरेका ठाउँमा समस्या छैन, नयाँ ठाउँमा समस्या देखिएको छ।’ ती समस्या समाधानका लागि कार्यालयले विभागमा लेखी पठाएको छ।
कार्यालय प्रमुख नारायण लामिछानेले जोखिम बढी देखिएका ठाउँमा रकनेटिङलगायतका काम गर्नुपर्ने आवश्यकता औँल्याए। विभागसँग परामर्श गरेर काम अघि बढाइने उनले बताए। वर्षात्को समयमा सडक जोखिमपूर्ण भएकाले यात्रा गर्दा सावधानी अपनाउनुपर्ने उनको सुझाव छ।
कार्यालयले ढुङ्गा र पहिरो खस्न सक्ने जोखिम भएकाले मुग्लिनमा एउटा लोडर तयारी अवस्थामा राखेको छ। यस्तै सेतीदोभानमा लोडर, जेसिभी एक्साभेटर, ट्रकटेलर, टिपर तयारी अवस्थामा राखिएको छ। नाली बन्द हुन नदिन मिनी एक्साभेटर र आवश्यक जनशक्ति सडकमा नियमित परिचालन गरिएको छ। रासस
Shares

प्रतिक्रिया