सप्तरीमा प्रहरीले चलाएको गोली लागेर एकजनाको मृत्यु भएको छ। घटनामा दुई प्रहरीसमेत घाइते भएका छन्।
गएराति राजगढ गाउँपालिका- २ कमलपुरमा प्रहरीले चलाएको गोली लागेर मदिरा तस्करीमा संलग्न एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
‘मंगलबार राति साढे १० बजेको घटना हो,’ जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी जितेन्द्रकुमार बस्नेतले नेपालखबरसँग भने, ‘मदिरा तस्करी रोक्नका लागि खटिएका प्रहरीमाथि आक्रमण भएपछि आत्मरक्षाको लागि प्रहरीले गोली चलाउँदा स्थानीय ३६ वर्षीय लालु यादवको मृत्यु भएको हाे।’
उनले मदिरा तस्करीमा संलग्नहरूको आक्रमणबाट प्रहरी इन्सपेक्टर वीरेन्द्रकुमार यादव र सहायक हबलदार सिकेन्द्र थारु पनि घाइते भएका जानकारी दिए।
झण्डै ६०/७० जनाकाे संख्यामा भेला भएका स्थानीयले प्रहरीमाथि घरेलु हतियारले आक्रमण गर्न थालेपछि आत्म रक्षाको लागि सुरुमा पाँच राउन्ड हवाइ फाइर गरिएको उनले बताए। त्यतिगर्दा पनि प्रहरीमाथि ढुंगामुढा नरोकिएपछि गोली चलाउनु परेको डीएसपी बस्नेतको भनाई छ।
प्रहरीको गोली लागेर गम्भीर घाइते भएका यादवको उपचारको क्रममा गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा मृत्यु भएको हो।
‘त्यस क्रममा नेपालबाट भारततर्फ तस्करी गर्न लागिएका नेपाली ब्राण्डका केही कार्टुन मदिरा समेत नियन्त्रणमा लिएका छौँ,’ डीएसपी बस्नेतले भने।
घटनास्थल सदरमुकाम राजविराजबाट झण्डै १७ किमी पश्चिम नेपाल-भारत सीमा क्षेत्रमा पर्छ। भारतमा मदिराको उत्पादन, बिक्री, वितरण र सेवनमा प्रतिवन्ध रहेकाले नेपालबाट मदिरा तस्करी हुने गरेको प्रहरीले जनाएको छ। मधेसका नेपाली सीमा क्षेत्रमा मदिरा सेवनकाे लागिसमेत भारतीयहरू आउने गरेका छन्।
Shares

प्रतिक्रिया