समाज


उत्तराखण्डको बाढी : बर्दियाका नरेन्द्रको हात मात्रै फेला पर्‍यो, परिवारले उतै गरे सद्‍गद्

उत्तराखण्डको बाढी :  बर्दियाका नरेन्द्रको हात मात्रै फेला पर्‍यो, परिवारले उतै गरे सद्‍गद्

उत्तराखण्डको उत्तरकाशी जिल्लामा आएको बाढी


नेपालखबर
साउन २५, २०८२ आइतबार १७:३८, काठमाडौँ

भारतको उत्तराखण्डमा आएको बाढीमा बेपत्ता भएका बर्दियाका नरेन्द्र खड्काकाे पहिचान भएको छ।  

शनिबार खोजी गर्ने क्रममा हात मात्रै भेटिएपछि हातमा लेखिएको ‘टाटु’का आधारमा उनका आफन्तले पहिचान  गरेको बर्दियाको मधुवन नगरपालिकाका प्रमुख तेजबहादुर भाटले नेपालखबरलाई जानकारी दिए। 

शुक्रबार आएको बाढीमा मधुवन-६ का ३९ वर्षीय नरेन्द्र खड्का,  उनकी श्रीमती ३० वर्षीया सरस्वती र २ वर्षीय छोरा रोमन बेपत्ता भएका थिए। 

‘एकजनाको हात मात्रै फेला परेको भन्ने छ,’ नगरप्रमुख भाटले भने, ‘त्यो नरेन्द्र खड्काको भन्ने छ। श्रीमान्, श्रीमति र एकजना बच्चासहित हराएको र त्यसमध्य श्रीमानको हात हो भन्ने छ।’ 

‘यहाँबाट आफन्तहरू पनि जानु भएको छ। उहाँहरूले पहिचान गर्नु भएको हो,’ उनले थपे।

खड्काको हात मात्रै फेला परेको र शव फेला पर्ने सम्भवना कम भएकाले हातकै आधारमा आफन्तले उतै सद्‍गद् पनि गरेको उनले बताए। 

‘शव फेला परेको छैन, खाली एउटा हात मात्रै फेला परेको हो,’ भाटले भने, ‘त्यही आधारमा उतै सद्‍गद् गरेर आफन्त फर्किँदै छन्।’

बाढीमा मधुवनकै ४ जना बेपत्ता भएको समेत उनले बताए। मधुवन-५ का ४५ वर्षीय रामु परियारका श्रीमती अमृता परियार बेपत्ता भएकी छिन्। उनकी छोरी २१ वर्षीया लक्ष्मी परियार गम्भीर घाइते छिन्। 

त्यस्तै, गुलरिया नगरपालिका-३ का २१ वर्षीय सुभाष विक पनि बाढीमा बेपत्ता भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad