नेपालमा ७२ वटा जिल्लामा ७५ कारागार रहेका छन्। जसमध्ये भक्तपुर, धनुषा, बारा, पूर्वी नवलपरासी र पूर्वी रुकुममा कारागार छैनन्।
गृहमन्त्री रमेश लेखककाअनुसार काठमाडौँ, दाङ र बाँकेमा एउटै जिल्लामा २ वटा कारागार छन्। बुधबारको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले कारागार व्यवस्थापनका निमित्त केही नीतिगत र कानुनी व्यवस्था रहेको बताए।
गृहमन्त्रीका अनुसार देशभर अहिले २८ हजार ७ सय १८ जना बन्दी कैदीहरु रहेका छन्। यो तथ्यांक २०८२ को असार मसान्तसम्मको हो।
थुनुवा पुरुषतर्फ ९ हजार ८ सय ३९, महिला थुनुवा ५ सय ९६ गरी कुल १० हजार ४ सय ३५ जना रहेका छन्। कैदीहरुमा पुरुषतर्फ १७ हजार ३ सय २९ जना र महिलातर्फ ९ सय ५४ जना गरी कुल १८ हजार २ सय ८३ जना रहेका छन्।
थुनुवा र कैदी गरेर पुरुषतर्फ जम्मा २७ हजार १ सय ६८ र महिलातर्फ १ हजार ५ सय ५० गरी २८ हजार ७ सय १८ जना रहेका छन्।
६०१ जना ज्येष्ठ नागरिक कैदीबन्दी
गृहमन्त्री लेखकले ६५ वर्ष माथिका ६०१ जना कैदीबन्दी रहेको बताए। उनकाअनुसार आश्रित बालबालिकाको संख्या ६४ जना रहेका छन्।
कुनै मानिस थुनुवा वा कैदीका रुपमा आमा रहेको छ भने आमासँगै बस्नुपर्ने बालबालिकालाई पनि आमाको सामिप्यताको लागि राख्ने गरिन्छ।
नेपालमा विदेशी बन्दीको संख्या १ हजार ४ सय २७
नेपालमा कुल विदेशी बन्दीहरुको संख्या १ हजार ४ सय २७ रहेको गृहमन्त्री लेखकले बताए। यो संख्या नेपालमा रहेका २८ हजार ७ सय १८ जना बन्दी कैदीहरुमध्ये हो।
क्षमता भन्दा ७ गुणा बढी कैदीबन्दी
रुकुमपश्चिमको कारागारमा क्षमता भन्दा ७ गुणा बढी कैदीबन्दी राखिएको छ। सल्यान ताप्लेजुङ, ओखलढुङ्गा र उदयपुरमा ६ गुणा बढी छन् भने सुर्खेत, बैतडी, कैलाली र गुल्मीमा ५ गुणा बढी कैदीबन्दी रहेका छन्।
धनकुटा, घोराही, तुलसीपुर, रोल्पा, गोरखा, काभ्रेपलाञ्चोक, सिरहा, सिन्धुलीमा ४ गुणा बढी कैदीबन्दी रहेको बताए। सल्यानमा ४ गुणा बढी कैदीबन्दी राखिएको उनको भनाइ छ।
१ हजार ३ सय ७४ बालबालिका कैदीबन्दी
नेपालमा भक्तपुर, मकवानपुर, विराटनगर, वीरगञ्ज, रुपन्देही, कास्की, बाँके र डोटीमा गरी ८ जिल्लामा ९ वटा बाल सुधार गृह रहेका छन्।
२०८२ को असार मसान्तसम्म बालविजयीकर्ताको संख्या थुनुवामा बालक ५ सय ७३ छन् भने बालिका २१ जना रहेका छन्। ५ सय ९४ थुनुवा रहेका छन्।
कैदी बालक ७ सय ६३ र बालिका १७ जना गरी जम्मा ७ सय ८० रहेका छन्। कुल बालक र बालिकाको संख्या बालक १ हजार ३ सय ३६ र बालिका ३८ गरी १ हजार ३ सय ७४ बालबालिका कैदीबन्दीका रुपमा रहेको गृहमन्त्री लेखकले बताए।
उनकाअनुसार ७ हजार बन्दीहरुलाई उत्पादनमुलक काममा लगाइएको छ।
Shares

प्रतिक्रिया