लामखुट्टेको टोकाइबाट सर्ने डेंगु संक्रमणबाट २४ वर्षीया युवतीको मृत्यु भएको छ। डेंगु संक्रमणपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएकी उनको गत बुधबार मृत्यु भएको हो।
अस्पतालमा मेडिकल रेर्कडर समीर अधिकारीले अस्पताल उपचाररत १ महिलाको मृत्यु भएको जनाएका छन्। ‘मंगलबार अस्पताल भर्ना हुनुभएको थियो। अस्पताल आउँदा स्वास्थ्य अवस्था निकै जटिल थियो,' उनले भने, 'आईसीयूमा राखेर उपचार गरिएको थियो, बुधबार मृत्यु भयो।’
ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यस बर्ष डेंगुबाट मृत्यु हुने यो पहिलो घटना हो। हाल ७४ जिल्लाका २ हजार ९८४ जनामा डेंगु संक्रमण देखिएको छ।
महाशाखाका अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा २९९, कोशीमा ४७, गण्डकीमा २७, सुदूरपश्चिममा २४, लुम्बिनीमा २२, मधेसमा १८ र कर्णालीमा ६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ।
एडीस एजेप्टाइ र एडीस एल्बोपेक्टस नामक लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु संक्रमण नेपालमा पहिलो पटक २००४ मा चितवन आएका एक विदेशी नागरिकमा भेटिएको थियो।
Shares

प्रतिक्रिया