समाज


इजरायली प्रधानमन्त्री नेतान्याहुसँग भेट्न जाँदै विपिनकी आमा र बहिनी

इजरायली प्रधानमन्त्री नेतान्याहुसँग भेट्न जाँदै विपिनकी आमा र बहिनी

इजरायली राष्ट्रपति हर्जाेग र प्रथम महिला मिचेलका साथ पद्मा र पुष्पा जोशी


नेपालखबर
भदौ ३, २०८२ मंगलबार ११:४०, काठमाडौँ

हमासद्वारा अपहरित नेपाली विद्यार्थी विपिन जोशीका आमा र बहिनीसँग इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भेट गर्ने भएका छन्।

इजरायलको स्थानीय समयअनुसार बिहान ११ बजे आमा पद्मा जोशी र बहिनी पुष्पासँग प्रधानमन्त्री नेतान्याहुले भेट गर्न लागेका हुन्। 

विपिनको रिहाइका लागि अनुरोध र दबाब सिर्जना गर्न इजरायली सरकारको निम्तोमा आमा पद्मा र बहिनी पुष्पा अघिल्लो हप्ता इजरायल पुगेका थिए। त्यस क्रममा उनीहरूले इजरायली राष्ट्रपति इसाक हेर्जाेग, इजरायली संसदका अध्यक्ष अमिर ओहाना र परराष्ट्रमन्त्री गिडोन सारसँग भेट गरिसकेका छन्। 

यसमध्ये राष्ट्रपति हेर्जाेग र संसद अध्यक्ष ओहानासँग आइतबार क्रमशः राष्ट्रपति भवन र संसद भवनमा भेटवार्ता भएको थियो। संसद नचलेका बेला सामान्यतया संसद भवन नखुल्ने भएपनि पद्मा र पुष्पासँगको भेटका लागि विशेष व्यवस्था गरेर संसद भवनमै भेटघाटको प्रबन्ध मिलाइएको थियो।

इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितका अनुसार, आमा पद्मा र वहिनी पुष्पासँगको भेटमा संसदका अध्यक्ष ओहानाले विपिनको रिहाइका लागि इजरायली संसदको तर्फबाट के भूमिका निर्वाह गर्नुपर्ने हो, त्यसका लागि आफू तयार रहेको उल्लेख गरेका थिए। 

‘नेपाली नागरिक भए पनि विपिन जोशी हाम्रा छोरा हुन्, भाइ हुन्, उनको रिहाइ प्रयासमा इजरायल सरकारले कुनै कसर बाँकी राखेको छैन’ संसद अध्यक्ष रोहानाको भनाइ थियो, ‘हामीले हाम्रै नागरिक सरह उनको रिहाइका लागि हरसम्भव प्रयास गरिरहेका छौँ।’ 

संसद अध्यक्ष ओहानासँगको भेटपछि पद्मा र पुष्पाको भेट राष्ट्रपति हेर्जाेगसँग भएको थियो। राष्ट्रपति कार्यालयमा भएको भेटका क्रममा राष्ट्रपति हेर्जाेगले विपिन जोशीलाई इजरायलले ‘हिरो’ को रुपमा चित्रण गरेका थिए। राष्ट्रपति हेर्जाेगका साथ प्रथम महिला मिचेल पनि थिइन्। 
‘जब हमासले आक्रमण गर्यो, त्यसका लागि उनीहरूले प्रयोग गरेको बम विपिनले समातेर उनीहरूतिर नै फ्याँकेका थिए, यस्तो वीरता र साहस कमै मानिसमा हुन्छ,’ राष्ट्रपति हर्जाेगले भनेका थिए, ‘त्यसैले, हाम्रा लागि विपिन ‘हिरो’ हुन्, विपिनजस्तो ‘हिरो’ को सुरक्षित रिहाइका लागि इजरायल सरकारले हरसम्भव प्रयास गरिरहेको छ।’ 

राष्ट्रपति हर्जाेगसँगको भेटवार्तामा इजरायलका लागि नेपाली राजदूत प्रा. धनप्रसाद पण्डितपनि सहभागी थिए। ‘विपिनको रिहाइका लागि  महामहिमज्यूले लिनुभएको चासो र प्रयास सराहनीय छ’ राजदूत पण्डितले भनेका थिए, ‘त्यसैले, उनको रिहाइ पनि यहाँको नेपाल भ्रमण हुनेछ भन्नेमा हामी आशावादी छौँ।’

राजदूत पण्डितका भनाईमा, नेपालजस्तो सुन्दर मुलुक र विपिनजस्ता ‘हिरो’ जन्मेको मुलुक नेपाल भ्रमणका लागि आफू इच्छुक रहेको राष्ट्रपति हर्जाेगले बताएका छन्। 

आइतबार राष्ट्रपति र संसद अध्यक्षसँग भेट गरेका पद्मा र पुष्पाले सोमबार इजरायलका परराष्ट्रमन्त्री परराष्ट्रमन्त्री गिडोन सारलाई भेटेका थिए। 

इजरायलका उच्च पदस्थहरूसँग भेट गरिरहेका पद्मा र पुष्पाको आज प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुका अलावा इजरायलका लागि अमेरिकी राजदूत माइक हुकावेसँग पनि भेट हुनेछ। 

कार्यकारी प्रमुख भएकाले इजरायलमा प्रधानमन्त्री सर्वाधिक शक्तिशाली मानिन्छन्। यसैगरी अमेरिका–इजरायलबीचको घनिष्ट सम्बन्धका कारण इजरायलमा अमेरिकी राजदूत पनि निकै शक्तिशाली छन्।   

इजरायल बसाइँका क्रममा उच्च पदस्थहरूसँग भेट गरेर विपिनको रिहाइका लागि अनुरोधपछि पद्मा र पुष्पा अमेरिका जाने तयारीमा छन्।

आज हुने राजदूत माइक हुकावेसँगको भेटपछि अमेरिकामा उनीहरूको को–को उच्चपदस्थहरूसँग भेटवार्ता सम्भव हुन्छ, त्यो तय हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad