नेपाली भूमि लिपुलेक हुँदै व्यापार पुनः सुरु गर्ने चीन र भारतको सहमतिको विरोध जनाउँदै नेपाल बौद्धिक परिषद्ले यसबारे चीनको धारणा माग गरेको छ।
परिषद्का अध्यक्ष गजेन्द्रप्रसाद थपलियाले बिहीबार विज्ञप्ति जारी गर्दै आधिकारिक धारणा सार्वजनिक गर्न माग गरेको हो। ‘उक्त क्षेत्र नेपाली भू-भाग रहेको विषय मित्रराष्ट्र चीनलाई समेत जानकारी गराइसकिएको अवस्थामा भारतको परराष्ट्र मन्त्रालयबाट जारी उक्त विज्ञप्तिबारे चीन सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।
परिषद्ले ऐतिहासिक सन्धि-सम्झौता, तथ्य, नक्सा र प्रमाणको आधारमा दुबै देशबीच रहेका सबै सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल र भारत सरकारसमक्ष माग गरेको छ।
‘नेपाल-भारतबीच सदियौंदेखि रहँदै आएको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धको सान्दर्भिकतालाई समेत मनन गर्दै दुई देश र जनताबीच रहेको सम्बन्धलाई अझ प्रगाढ बनाउन ऐतिहासिक सन्धि-सम्झौता, तथ्य, नक्सा र प्रमाणको आधारमा दुबै देशबीच रहेका सबै सीमा विवाद कूटनीतिक माध्यमबाट अविलम्ब समाधान गर्न नेपाल र भारत सरकारसमक्ष माग गर्दछौं,’ परिषद्ले भनेको छ।
Shares

प्रतिक्रिया