समाज


तीजको दिन दलित महिलालाई बाजुराको पादुका मन्दिरमा पस्न नदिने पुजारीले मागे माफी

तीजको दिन दलित महिलालाई बाजुराको पादुका मन्दिरमा पस्न नदिने पुजारीले मागे माफी

छुवाछुतपीडित रमिता विश्वकर्मा र विभेद गर्ने पुजारी मष्टिप्रसाद उपाध्याय


नेपालखबर
भदौ ११, २०८२ बुधबार ९:२८, काठमाडौँ

तीजका दिन भदौ १० गते मंगलबार दलित महिलालाई कथित जातका आधारमा बाजुराको बुढीनन्दा नगरपालिका वडा न. १ स्थित पादुका मन्दिरमा पस्न नदिने पुजारी मष्टिप्रसाद उपाध्यायले पीडितसँग माफी मागेका छन्। 

तीजको व्रत लिएकी पत्रकारसमेत रहेकी रमिता विश्वकर्मा मंगलबार पादुका मन्दिर पुगेकी थिइन्। अरु महिलासँगै पूजा गर्न खोज्दा त्यहाँका पुजारी उपाध्यायले ‘परम्परा हो, तिमी बाहिरबाटै दर्शन गर’ भनेका थिए। पीडित विश्वकर्माले यो कुरा सामाजिक सञ्जालमा सेयर गरेपछि धेरै जनाले उनलाई पुजारीविरुद्ध कानुनी कारबाहीका लागि प्रहरी कार्यालयमा जाहेरी दिन सुझाव दिएका थिए। 

तर पुजारी उपाध्यायले आइन्दा आफूले यसरी जातका आधारमा कसैलाई छुवाछुतको व्यवहार नगर्ने प्रतिबद्धता जनाउँदै माफी मागेपछि उनलाई जेल पुर्‍याउने निर्णयबाट आफू पछि हटेको पीडित रमिताले बताएकी छन्। 

जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभावसम्बन्धी (कसुर र सजाय) ऐन, २०६८ को दफा ७ अनुसार जातीय विभेद गरेको ठहरिएमा पीडकलाई ३ महिनादेखि ३ वर्षसम्म कैद वा ५० हजारदेखि २ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्नेछ। अझ सार्वजनिक पद धारण गरेका व्यक्तिलाई ५० प्रतिशत थप सजाय हुने उल्लेख गरिएको छ।

‘म कानुनी बाटो पनि रोज्न सक्थेँ। मलाई लाग्यो- पुरानो मान्छे, पुरानै सोचको समाज, त्यसैमा वृद्व व्यक्तिलाई जेल पुर्‍याउने विषय मात्रै जित होइन्, उहाँले भेटेरै सार्वजनिक रूपमा अबका दिनदेखि पादुका मन्दिरमा कोही कसैलाई जातका नाममा भेदभाव नगर्ने र छुवाछुतजस्तो अपराध नदोहोर्‍याउने भन्दै माफी मागेपछि मैले पनि माफ गरिदिने निर्णय लिएँ’, पीडित रमिताले सामाजिक सञ्जालमा लेखेकी छन्। 

‘यो सिंगो दलित समुदायको सवाल थियो। त्यसैमा मानव जातिको सवाल थियो। किन यसो गर्नुभयो भनेर पनि धेरै फोन-म्यासेज आए, प्रहरी प्रशासनबाट पनि निवेदन दिइहाल भन्ने साथ थियो। तर मैले सोचेँ- हामीले समाज बदल्नु छ। समाज बदल्नुपूर्व सोच बदल्नुपर्छ। कोही मान्छे, म सच्चिन्छु, सुध्रिन्छु, अब मान्छे बन्छु, सबैलाई समान व्यवहार गर्छु भनेर सार्वजनिक प्रतिबद्धता र कमजोरी स्वीकार गरिसकेपछि त्यो विषयलाई यत्तिमै समाधान गर्नमा म सहमत भएकी छु। यो निर्णयमा धेरैजना रिसाउनु हुनेछ। तर पनि मेरो निर्णयमा सोच फेर्ने र मन्दिर प्रवेशमा आजैबाट कुनै प्रकारको विभेद हुने छैन, मैले सहनु परेको अपमान अरूका लागि दोहोरिने छैन। यही सुधारको विषयलाई नै न्याय ठानेकी छु’, उनले थप लेखेकी छन्। 

यस विषयमा अहिले सामाजिक सञ्जालमा व्यापक बहस भइरहेको छ। कतिले माफीले मात्र नपुग्ने भन्दै ती पुजारीलाई कानुनी कारबाही नै गरिनुपर्ने बताइरहेका छन्। 

पीडित रमिता विश्वकर्मा बाजुराको कोल्टीस्थित रेडियो अपी एफएममा कार्यरत छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad