शिक्षकहरुले विद्यालय शिक्षा विधेयकमा आफूहरुको सबै माग सम्बोधन नभए आन्दोलनको कार्यक्रमलाई अझै चर्काउने चेतावनी दिएका छन्।
बिहीबार ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा धर्ना दिन पुगेका उनीहरुले सो विधेयकमा आफूहरुको महत्वपूर्ण माग सम्बोधन नभए फेरि आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका हुन्।
‘समितिबाट अघि बढ्दै गर्दा हाम्रा केही माग मुद्दा सम्बोधन भएर आएका छन्,’ महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने, ‘अब केही महत्वपूर्ण माग, मुद्दा छुटेका छन। तिनका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभामा अझै हाम्रो संशोधनको समय छ। संशोधनको स्थान छ। त्यसैले प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट संशोधन गरेर एउटा विद्यालय शिक्षक, कर्मचारीमैत्री अग्रगामी ऐन बनाउने त्यो दवाव निर्माण गर्न हामी आन्दोलनमा छौं।’
‘अब प्रतिनिधि सभा र राष्ट्रिय सभा भनेको त दलले निर्णय गरेर ह्वीप लाग्ने ठाउँ हो। त्यसकारण अब सुधारको पाटोमा आउँछ भन्ने हामीले ठानेका छौं। त्यसैका लागि पक्षकरण गर्दैछौं। अगर त्यहाँबाट पनि सुधार नभई ऐन जारी हुँदा पनि त्यो सुधार भएन भने ऐन संशोधनका लागि २०८१/८२ को भन्दा ठूलो आन्दोलन लिएर हामी आउँछौं,’ उनले थपे।
विद्यालय शिक्षक, कर्मचारीहरुको बाँकी माग पनि सम्बोधन गराउनका लागि आफूहरुले दबाब स्वरुप दलको केन्द्रीय कार्यालयमा धर्ना दिने काम सुरु गर्नुपरेको महासंघका अध्यक्ष सुवेदीले बताए।
Shares

प्रतिक्रिया