समाज


सुर्खेतमा ‘अति भारी’, यी जिल्लामा ‘धेरै भारी’ वर्षा

सुर्खेतमा ‘अति भारी’, यी जिल्लामा ‘धेरै भारी’ वर्षा

नेपालखबर
भदौ १३, २०८२ शुक्रबार १२:६, काठमाडौँ

पछिल्लो केही दिनदेखि नेपालमा मनसुन थप सक्रिय भएको छ।

पछिल्लो २४ घण्टामा सुर्खेतमा देशभरमै सबैभन्दा बढी वर्षा भएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार सुर्खेतको खानीखोला वर्षामापन केन्द्रमा सबैभन्दा बढी २९२ दशमलव ३ मिलिमिटर वर्षा भएको हो। यसलाई अति भारी वर्षा भनिन्छ। 

विभागको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले न्यूनचापीय प्रणाली सक्रिय रहेकाले पश्चिम क्षेत्रको निश्चित केन्द्रमा बढी, तर सीमित क्षेत्रमा खण्डित वर्षा भएको बताइन्। 

विभागका अनुसार पर्वतको पञ्चासेमा पनि १७९ दशमलव तीन मिलिमिटर वर्षा भएको छ। यस्तै बाँकेमा पनि १४६ दशमलव तीन मिलिमिटर वर्षा भएको छ। 

यसैगरी दाङमा १३८, दार्चुलामा १०७, सिन्धुपाल्चोकमा १०५ मिलिमिटर वर्षा भएको छ भने १२ भन्दा बढी स्टेशनमा ८० देखि १०० मिलिमिटरको बीचमा वर्षा भएको छ।

धेरै मापन केन्द्रमा ५० देखि ८० मिलिमिटरको बीचमा वर्षा भएको विभागको अभिलेखमा उल्लेख छ।

मौसमविद् मानन्धरले आज दिउँसो र साँझसम्म वर्षा अलि बढी हुने र भोलि भने केही कम हुने बताइन्। 

स्थानीय प्रणालीका कारण पश्चिमी क्षेत्रमा वर्षा भएको र पूर्वमा भने बंगालको खाडीबाट आएको प्रणालीको असर भएको विभागले जनाएको छ। 

आज कोसी, गण्डकी, कर्णाली र सुदूपश्चिम प्रदेशमा बढी मनसुनी प्रभाव रहेको र मौसमी बदली भने देशैभरि भएको छ। हाल मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पश्चिममा सरदर स्थानको आसपास छ। 

हाल देशभर साधारणतया बदली छ। कोसी प्रदेशको तराई, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

मौसमविद्का अनुसार, २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्नुलाई हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नुलाई मध्यम वर्षा भनिन्छ।

अनि ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नुलाई भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नुलाई धेरै भारी वर्षा भनिन्छ भने २०० मिलिमिटरभन्दा माथि पानी पर्नुलाई अति भारी वर्षा भनिन्छ।  

यस्तै एक-दुई स्थानमा वर्षा भन्नाले सम्बन्धित प्रदेशका जुनसुकै ठाउँमा १० प्रतिशतभन्दा कम क्षेत्रफलमा पानी पर्ने सम्भावना देखिनु हो। 

यदि १० प्रतिशतदेखि ३० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने थोरै ठाउँमा पानी पर्न सक्छ भनिन्छ।

त्यसैगरी ३० प्रतिशतदेखि ५० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने केही स्थानमा पानी पर्न सक्छ भनिन्छ।

त्यस्तै ५० प्रतिशतदेखि ८० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने धेरै ठाउँमा वर्षा हुन सक्छ भनिन्छ।

यदि ८० प्रतिशतभन्दा बढी क्षेत्रफलमा पानी पर्ने सम्भावना भयो भने अधिकांश स्थानमा वर्षा हुन सक्छ भनिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad