नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल आज (शुक्रबार) जापान प्रस्थान गर्दै छन्।
आइतबार (अगस्ट ३१) हुने पार्टीको प्रवास संगठन प्रवासी नेपाली एकता मञ्च जापानको तेस्रो राष्ट्रिय अधिवेशनका लागि उनी आज त्यसतर्फ प्रस्थान गर्ने भएका हुन्।
एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा पूर्वी एसिया इन्चार्ज दोर्ण सिलवालका अनुसार महासचिव भुसाल आज थाई एयरवेजको उडानबाट बैंकक हुँदै जापान आउने कार्यक्रम छ।
'पार्टी महासचिव आज जापान आइपुग्नु हुँदै छ। मञ्चको अधिवेशनलाई सम्बोधन तथा जापानमा रहेका संघसंस्थासँग उहाँको भेटघाट तथा छलफल हुने कार्यक्रमको तालिका छ', सिलवालले नेपालखबरसँग भने।
अधिवेशनमा महासचिव भुसालले प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने आयोजकले जनाएको छ।
यस्तै विशेष अतिथिका रूपमा पार्टीका पोलिटब्युरो सदस्य सुदेश पराजुली अगस्ट २३ तारिख नै जापान पुगिसकेका छन्।
जापानको राजधानी टोकियोस्थित सिन-ओकुबोको होटल सोलमारीको सभाकक्षमा हुने अधिवेशनले मञ्चको नयाँ नेतृत्व समेत चयन गर्नेछ।
Shares

प्रतिक्रिया