समाज


प्रहरी महानिरीक्षकमा चन्द्रकुवेर खापुङ नियुक्त

प्रहरी महानिरीक्षकमा चन्द्रकुवेर खापुङ नियुक्त

नेपालखबर
भदौ १३, २०८२ शुक्रबार १२:२७, काठमाडौँ

नेपाल प्रहरीको ३२औँ महानिरीक्षक (आईजीपी) मा अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रकुवेर खापुङ नियुक्त भएका छन्।

शुक्रबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पहिलो वरीयतामा रहेका एआईजी खापुङलाई महानिरीक्षक बनाउने निर्णय गरेको हो। 

खापुङ आफ्नो ब्याचका एक्ला एआईजी हुन्। अरू एआईजी उनीभन्दा जुनियर हुन्।

हालका प्रहरी महानिरीक्षक दीपक थापा यही भदौ १८ गते अनिवार्य अवकाश हुने भएपछि एक साताअघि नै नयाँ आईजीपी नियुक्ति गरिएको हो।

नवनियुक्त आईजीपी खापुङले भदौ १९ गतेदेखि कार्यभार सम्हाल्नेछन्।

प्रधानमन्त्री केपी शर्मा ओली शनिबार चीन भ्रमणमा जाने र १८ गते मात्रै फर्किने भएकाले त्यसअघि नै आईजीपी नियुक्त गरिएको हो। 

खापुङ हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख छन्। यसअघि प्रहरी नायब महानिरीक्षक (डीआईजी) हुँदा पनि सीआईबीमै कार्यरत रहेका उनी एआईजी भएपछि पनि त्यहीँ पदस्थापन भएका थिए। 

त्यसअघि उनी कोसी प्रदेशको प्रहरी प्रमुख थिए। २०५१ सालमा खुलेको प्रहरी निरीक्षक (इन्सपेक्टरमा) प्रतिस्पर्धा गरेका थिए। त्यतिबेला प्रतिस्पर्धा गर्ने मध्ये तेस्रो आईजीपी खापुङ बनेका हुन्।

यसअघिका आईजीपी वसन्तबहादुर कुँवर र दीपक थापा पनि उनीसँगै प्रतिस्पर्धा गरेर प्रहरी निरीक्षकमा भर्ना भएका थिए। तर प्रहरी निरीक्षकमा एक सय जना उत्तिर्ण गर्दा क र ख समूहमा विभाजन गरिएको थियो। 

क समूहमा कुँवर थापासहित ६० जना थिए। तर २०५१ चैत ५ गते कुँवरसहित ५२ जनालाई मात्रै नियुक्त गरेर बाँकी ८ जनालाई पछि सम्पर्क गर्ने भनिएको थियो। उनीहरूलाई २०५२ भदौ १९ गते प्रहरी निरीक्षकमा नियुक्त गरिएको थियो। जतिबेला दीपक थापासहित ८ जना नियुक्त भएका थिए। तीमध्ये आईजीपी थापा र एआईजीहरू सुदीप गिरी र टेकबहादुर तामाङ पनि १८ गते थापासँगै अवकाश हुनेछन्। 

त्यसअघि १५ गते खापुङका ब्याची एआईजी कृष्णहरि शर्मा पोखरेल पनि अवकाश हुने भएपछि त्यो ब्याचको खापुङ मात्रै रहनेछन्। खापुङले आगामी कात्तिक २७ गतेसम्म प्रहरी संगठनको नेतृत्व गर्नेछन्। 

खापुङसहित समूह खमा रहेका ४० जनालाई विशेष दरबन्दी सिर्जना गरेर २०५२ कात्तिक २७ गते प्रहरी निरीक्षकमा नियुक्त गरिएको थियो। उनी ३० वर्षे सेवा अवधिको व्यवस्था कायम रहे अढाई महिनामै अवकाश हुनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad